प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८३/८४ को बजेट विवादलाई लिएर सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध गरेको छ।
कांग्रेसको अवरोधपछि आधा घण्टाका लागि स्थगित गरिएको बैठक सहमति जुट्न नसकेपछि अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकाललाई रोकिएको हो।
प्रदेशसभाको आठौं अधिवेशनको २४औं बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख भीमबहादुर भण्डारीले प्रतिपक्षी दललाई धारणा राख्न समय दिए।

बैठकमा बोल्दै कांग्रेस नेता विक्रम धामीले अर्थमन्त्रीले बजेटमा त्रुटि भएको स्वीकार गरिसकेको र सत्ताको नेतृत्वकर्ता नेपाली कम्युनिस्ट पार्टीको संसदीय दलले समेत बजेट पुनर्लेखन गर्ने सहमति जनाएको दाबी गरे। बजेटमै गम्भीर त्रुटि देखिएकाले वर्तमान सरकारले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने उनको माग थियो।
सभामुख आफैंले सात सदस्यीय समिति बनाएर बजेट पुनरावलोकन गराउने आशय व्यक्त गरिसकेकाले पनि वर्तमान सरकार सत्तामा रहिरहनुको औचित्य समाप्त भइसकेको धामीले बताए।
कांग्रेस सांसदहरूको नाराबाजी र अवरोध जारी रहेपछि सभामुख भण्डारीले सुरुमा आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए। तर, दलहरूबीच सहमति जुट्न नसकेपछि सूचना टाँस गरेर बैठक अनिश्चितकालका लागि स्थगित गरियो। आजको बैठकमा प्रदेशसभा नियमावली, २०८० को नियम १५ बमोजिम समसामयिक विषयमा दलगत धारणा राख्ने कार्यसूची तय थियो।
चालु आर्थिक वर्ष सुरु भएको करिब तीन महिनासम्म सुदूरपश्चिम प्रदेश ‘बजेट होलिडे’ को अवस्थाबाट गुज्रिएको थियो। यसअघि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार बजेट पेस गरेलगत्तै विघटन भएको थियो।
त्यसपछि गठन भएको मुख्यमन्त्री खगराज भट्ट नेतृत्वको सरकारले गत असोज २६ गते प्रतिपक्षीको बहिष्कारबीच बहुमतका आधारमा बजेट पारित गराएको थियो।
तर, पारित बजेटमाथि सत्तापक्षभित्रै र बाहिर तीव्र विरोध कायमै छ। कांग्रेसले बजेट प्रक्रियामा सरकार र सभामुखको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै मुख्यमन्त्रीको राजीनामालाई मुख्य अडान बनाएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।