नेपाली कांग्रेसका उपसभापति डा. चन्द्र भण्डारीले काठमाडौं महानगरपालिकाको मेयर हुँदा बालेन्द्र शाह (बालेन) लाई तत्कालीन सरकारले आवश्यक कर्मचारीसमेत उपलब्ध नगराएर काम गर्न नदिएको टिप्पणी गरेका छन्। तत्कालीन राजनीतिक नेतृत्वले बालेनको आग्रहलाई बेवास्ता गर्दा अहिलेको राजनीतिक परिस्थिति सिर्जना भएको उनको तर्क छ।
नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर–२ ले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले तत्कालीन समयमा बालेनले आफूलाई अधिकृत पठाइदिन आग्रह गरेको र त्यसका लागि आफूले एमाले, कांग्रेस र माओवादीका शीर्ष नेताहरूसँग समेत कुरा गरेको खुलासा गरे।
‘बालेनजी र मेरोबीच नेपालको राजनीतिको बारेमा लामो कुरा भयो। उहाँले मलाई अधिकृत पठाइदिन भन्नुभयो। मैले सबै नेता, मुख्यसचिवदेखि सचिवसम्मलाई भनेँ। केपी ओली र शेरबहादुर दाइलाई पनि भनेँ। तर आफ्नो महत्त्वाकांक्षाले कसैले मानेनन्। आज त्यो कुरा मानेको भए बालेन दोस्रोपटक मेयर उठ्थे,’ उनले भने।

पद र व्यक्तिगत महत्त्वाकांक्षाका कारण तत्कालीन नेतृत्वले आवश्यक निर्णय लिन नसक्दा त्यसको परिणाम अहिले देशले भोग्नुपरेको भण्डारीको भनाइ थियो। ‘पदका सामुन्ने कसैले मानेनन्, जसको प्रतिफल जेनजी आन्दोलन भयो। अब विगतबाट सिकेर मेहनत गर्नुपर्ने अवस्था आएको छ,’ उनले भने।
भण्डारीले वर्तमान सरकारले विगत ३५ वर्षमा केही पनि भएन भन्ने भाष्य निर्माण गर्न नहुने बताए। लोकतान्त्रिक व्यवस्था स्थापना र पूर्वाधार विकासमा विगतका सरकार तथा राजनीतिक दलहरूको योगदान रहेको उल्लेख गर्दै उनले नयाँ नेतृत्वले त्यसलाई पनि स्वीकार गर्नुपर्ने धारणा राखे।
‘हामीले बनाएको घरभित्र बालेन आएका हुन्। यो घर बनाउन हजारौँको रगत र बलिदान परेको छ। केपी ओलीले कीर्तिपुरको स्टेडियम बनाउन मिहिनेत गर्नुभयो, त्यसको उद्घाटन बालेनजीले गर्नुभयो। आफूले टुँडिखेलमा लगाएको दुबो मात्रै देख्ने प्रवृत्ति राम्रो होइन,’ उनले भने।
सामाजिक सञ्जालमा दर्शक र समर्थक बढाएर मात्रै सरकार सञ्चालन नहुने भन्दै भण्डारीले जनताको काम गरेर जनमत आर्जन गर्नुपर्ने बताए। उनले सरकारलाई विवादमा अल्झिनुभन्दा काममा केन्द्रित हुन र युवाको ऊर्जा तथा क्षमतालाई विकासमा उपयोग गर्न आग्रह गरे।
भण्डारीले वर्तमान सरकार पाँच वर्षसम्म चलोस् भन्ने नेपाली कांग्रेसको चाहना रहेको पनि स्पष्ट पारे। सरकारलाई अस्थिर बनाउने नभई आवश्यक सहयोग गरेर काम गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो।
‘हाम्रो पार्टीले र पार्टी सभापतिले यो सरकार पाँच वर्ष चलोस् भन्ने चाहेका छौँ। हामीले सहयोग गर्छौँ,’ उनले भने, ‘यो देश पाँच–छ वर्षमा समृद्ध बन्न सक्छ। युवालाई नेपालमै राख्ने, सीप र तालिम दिने तथा जनतालाई विकाससँग जोड्ने हो भने सम्भावना धेरै छन्।’
सरकारका गतिविधिमा गल्ती भए कानुनी प्रक्रियाबाट कारबाही गर्नुपर्ने उल्लेख गर्दै उनले आरोप–प्रत्यारोपमा अल्झिएर विकासका काम रोक्न नहुने बताए।
‘यदि गगन थापाले वा नेपाली कांग्रेसको कुनै व्यक्तिले कारबाही गर्नुपर्ने काम गरेको छ भने कारबाही गरेर देखाउनुस्। होइन भने काम गर्न छोडेर नचाहिने काम किन गर्दै हिँडेको? काम गर्नुस्। यत्रो युवा शक्ति छ, यसको प्रयोग गर्नुपर्दैन?’ उनले प्रश्न गरे।
आफूले विगतमा राजनीतिक जिम्मेवारी दिँदा व्यक्तिको भीड र प्रभावभन्दा क्षमता तथा सम्भावनालाई प्राथमिकता दिएको प्रसंग पनि भण्डारीले सुनाए। त्रिभुवन कलेजमा विद्यार्थीलाई जिम्मेवारी दिने क्रममा आफूले भीडभन्दा शैक्षिक क्षमता हेरेको र त्यसक्रममा चिकित्सक बन्न प्रेरित गरेका एक व्यक्ति अहिले शिक्षण अस्पतालमा छाती रोग विशेषज्ञ बनेको उदाहरण उनले दिए।
‘मैले त्यतिबेला छानेका व्यक्ति पार्टीको शीर्ष नेतृत्वमा छन्, अबको प्रधानमन्त्री बन्ने लाइनमा छन्। चिकित्सकको सिफारिस गरेका पात्र शिक्षण अस्पतालमा छन्,’ उनले भने।
भण्डारीले पहाड र तराईलाई छुट्याउने प्रयासको पनि विरोध गरे। नेपालको भौगोलिक एकता, प्राकृतिक स्रोत र साधन तथा आर्थिक सम्भावनालाई एकीकृत गरेर विकास गर्नुपर्ने उनको धारणा थियो।
‘तराईको उत्पादन र पहाडको जलस्रोतले हामीलाई समृद्धितर्फ लैजान सक्छ। नेपालको भूगोल, प्रकृति, स्रोत र साधनलाई छुट्याउनु हुँदैन,’ उनले भने।
पहाड र तराईलाई अलग गर्ने निर्णय रोक्न आफूले तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, पुष्पकमल दाहाल र केपी शर्मा ओलीसँग छलफल गरेको प्रसंग उल्लेख गर्दै उनले राष्ट्रिय एकता र भौगोलिक अखण्डताका विषयमा राजनीतिक नेतृत्व गम्भीर हुनुपर्ने बताए।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।