विज्ञापन
राजनीति

नाराबाजीसहित सरकारको राजीनामा माग

करिब एक महिनापछि बसेको सुदूरपश्चिम प्रदेशसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ। बजेटप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेससहितका प्रतिपक्षी दलका सांसदहरूले सदनमै नाराबाजी गर्दै सरकारको राजीनामा मागेपछि बैठक स्थगित भएको हो।

शनिबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका तर्फबाट सांसदहरूलाई धारणा राख्न विशेष समय छुट्याइएको थियो। तर बैठक सुरु भएलगत्तै प्रतिपक्षी सांसदहरूले बजेटको विरोध गर्दै सरकारको राजीनामा मागेर नाराबाजी सुरु गरेपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए।

आधा घण्टापछि पुनः बस्नुपर्ने बैठक सभामुखकै निर्देशनमा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

विज्ञापन

प्रदेशसभा सचिवालयकी सूचना अधिकारी ताराकुमारी जोशीका अनुसार सुरुमा प्रतिपक्षी दलको अवरोधपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए। तर निर्धारित समयमा बैठक सञ्चालन हुन नसकेपछि सभामुखकै निर्देशनमा अनिश्चितकालका लागि स्थगित गरिएको हो।

बैठक सुरु भएलगत्तै नेपाली कांग्रेसका प्रदेशसभा सदस्य विक्रम धामीले बजेटप्रति असन्तुष्टि जनाउँदै सरकारको आलोचना गरेका थिए। उनले अपुरो, अधुरो र अपर्याप्त बजेट ल्याएको भन्दै सरकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरे।

‘अर्थमन्त्री स्वयंले बजेट गलत भएको आशयको लामो वक्तव्य दिनुभएको छ। सभामुखज्यूबाट पनि यो बजेट अपुरो, अधुरो र अपर्याप्त रहेको भन्दै त्यसका लागि सात सदस्यीय संसदीय समिति बनाउने र बजेट संशोधन गर्ने आशय व्यक्त भएको छ,’ धामीले सदनमा भने, ‘सभामुख र स्वयं अर्थमन्त्रीबाट समेत बजेट गलत भएको आशय व्यक्त हुँदा सरकारले राजीनामा दिनुपर्छ।’

उनले बैठकको कार्यसूचीमा सरकारको राजीनामाको विषय समावेश नगरिएको भन्दै आपत्तिसमेत जनाए।

‘हामीले आज राजीनामा दिने विषय कार्यसूचीमा आउला भन्ने सोचेका थियौँ,’ उनले भने, ‘यो सरकारको अविलम्ब राजीनामा माग गर्दछौँ।’

धामीले सरकारको राजीनामा माग गरेलगत्तै नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आ–आफ्नो स्थानबाट उठेर नाराबाजीमा उत्रिएका थिए।

उनीहरूले ‘आफैँले आफैँलाई गलत भन्ने सरकार, राजीनामा दे’, ‘असफल सरकार, राजीनामा दे’, ‘माननीय सांसद र जनतालाई भ्रम सिर्जना गर्ने सरकार, राजीनामा दे’ र ‘संवैधानिक मर्यादाको उल्लंघन गर्ने सरकार, राजीनामा दे’ लगायतका नारा लगाएका थिए।

प्रतिपक्षी सांसदहरूको नाराबाजी र अवरोधका कारण सदनको नियमित कामकारबाही अघि बढ्न नसकेपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए। तर तोकिएको समयमा बैठक पुनः बस्न नसकेपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो।

बजेटको विषयलाई लिएर सुरु भएको प्रतिपक्षीको विरोधले प्रदेशसभाको बैठक नै प्रभावित भएपछि सरकारमाथि राजनीतिक दबाब थपिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।