विज्ञापन
कला तथा मनोरञ्जन

धार्मिक आवरणभित्र अल्झिएको ‘पाँच पाण्डव’ को धरातल

प्रदर्शनपूर्व नै विवादको घेरामा ताबनिएको चलचित्र ‘पाँच पाण्डव’ अन्ततः शुक्रबारदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको छ।

आफूलाई धार्मिक अभियन्ता बताउने कतिपय समूहले सनातन धर्मको उपहास गरेको र महाभारतकी पात्र द्रौपदीको छवि धुमिल बनाएको भन्दै सामाजिक सञ्जालमा विरोध जनाएका थिए।

सञ्चार मन्त्रालयमै पुगेर प्रदर्शन रोक्न ज्ञापनपत्र बुझाउनेसम्मका कसरत भए। अनेकौं विवाद, दबाब र सामाजिक सञ्जालको बहसलाई छिचोल्दै चलचित्र दर्शकमाझ आएको छ।

विज्ञापन

धार्मिक विवादको खोल ओढाइएको यो चलचित्रभित्र आखिर के छ ? के चलचित्र साँच्चै विरोध गरिएजस्तै सनातन धर्मविरोधी छ वा प्रचारबाजीका लागि रचिएको कृत्रिम लफडा मात्रै ?

आउनुहोस्, चलचित्रको कथावस्तु, अभिनय र प्राविधिक पक्षबारे चर्चा गरौं।

कथा

कमेडी, मिस्ट्री थ्रिलर र समसामयिक सामाजिक विषयवस्तुको सम्मिश्रण भनिएको ‘पाँच पाण्डव’ को उठान पौराणिक पात्र युधिष्ठिरबाट हुन्छ।

स्वर्गलोक छाडेर पाण्डुपुत्र युधिष्ठिर आफ्ना चार भाइ भीम, अर्जुन, नकुल, सहदेव र द्रौपदीलाई खोज्दै कलियुगको धर्तीमा आइपुग्छन्। चलचित्रको औपचारिक कथा यही बिन्दुबाट सुरु हुन्छ।

तर, कथा पौराणिक मात्र छैन। आधुनिक समाजको यथार्थसँग जोडिन्छ। कथाको केन्द्रमा छिन् कविता उर्फ् इभा गिरी। उनी एक क्यासिनो डान्सर हुन्। बाहिरबाट हेर्दा क्यासिनोको चकाचौंध र ग्ल्यामरमा रमेकी देखिए पनि कविता भित्रभित्रै डर, त्रास र असुरक्षाको भुमरीमा बाँचिरहेकी छन्।

घटनाक्रम यस्तो बन्छ कि अकस्मात् कविताको हातबाट एक व्यक्तिको ज्यान जान्छ। त्यसपछि चल्छ अपराध ढाकछोपको शृङ्खला। उक्त शवलाई लुकाउन र कवितालाई बचाउन युधिष्ठिर, भीम र सुन्दरे लागिपर्छन्।

झुट र अपराधको आयु कहिलेसम्म टिक्ला ? के उनीहरू कानुनको आँखाबाट बच्न सक्छन् ? यी प्रश्नको उत्तर खोज्न दर्शकले हलसम्मको यात्रा तय गर्नुपर्ने हुन्छ।

अभिनय

अभिनयको कुरा गर्दा वरिष्ठ अभिनेता हरिवंश आचार्य युधिष्ठिरको मुख्य भूमिकामा छन्। पौराणिक पात्रलाई आधुनिक परिवेशमा उतार्ने प्रयासमा आचार्य कतैकतै भने चुकेका देखिन्छन्।

उनले युधिष्ठिरको चरित्रलाई पर्दामा पूर्ण रूपमा जीवन्त बनाउन सकेका छैनन्। उनको अभिनय स्वभाविक लाग्नुको साटो ‘अभिनय गरिरहेको’ जस्तो मात्र भान हुन्छ।

स्वर्गबाट सीधै धर्तीमा झरेको मान्छेले यहाँका आधुनिक प्रविधि र तौरतरिका देख्दा देखाउनुपर्ने आश्चर्य, मनोवैज्ञानिक द्वन्द्व र हाउभाउमा जुन गहिराइ हुनुपर्थ्यो, त्यो देखिँदैन। यो पक्षमा निर्देशक र अभिनेता दुवैले अझै मिहिनेत गर्नुपर्ने थियो।

जीतु नेपाल भीम सिंहको भूमिकामा छन्। इँटाभट्टामा पसिना बगाउँदै जीवन गुजारा गरिरहेको एक सङ्घर्षशील मजदुरको रूपमा उनले आफूलाई औसत रूपमा प्रस्तुत गरेका छन्।

भीम सिंहकी श्रीमती बनेकी दीपाश्री निरौलाको काम भने प्रशंसनीय छ। उनले नेपाली समाजको सशक्त, आत्मनिर्भर र दरिलो महिलाको भूमिकालाई न्याय गरेकी छन्।

कन्टेन्ट क्रिएटर ‘सुन्दर’ को भूमिकामा देखिएका महेश त्रिपाठीले आफ्नो चरित्रमा राम्रो पकड जमाएका छन्। उनको संवाद र भावभङ्गी दर्शकलाई बाँधेर राख्न सफल हुन्छ।

परदेशमा पिआर लिइसकेर पनि केही पारिवारिक र व्यक्तिगत बाध्यताले स्वदेश फर्किएको युवाको भूमिकामा सुशील सिटौलाको अभिनय पनि स्वाभाविक लाग्छ।

अर्कातर्फ, कर्तव्यनिष्ठ र सशक्त प्रहरी अधिकृतको भूमिकामा देखिएका आर्यन सिग्देलले आफ्नो काम इमानदारीपूर्वक गरेका छन्।

चलचित्रको मुख्य आकर्षण नवअभिनेत्री इभा गिरी हुन्। डेब्यु चलचित्रमै उनले क्यासिनो बार डान्सर र एउटी सङ्घर्षरत आमाको दोहोरो जिम्मेवारी कुशलतापूर्वक निभाएकी छन्।

नेपाली सिनेमामा प्रायः महिलालाई असहाय, रोइरहने र पुरुषको सहारा खोज्ने कमजोर पात्रका रूपमा देखाइने परम्पराविपरीत कविताको भूमिकालाई सशक्त र जुझारु बनाइएको छ। यस पात्रमा इभा खरो उत्रिएकी छन्।

निर्देशकीय कमजोरी

चलचित्रको कमान्ड सम्हालेका निर्देशक वसन्त निरौला कतिपय महत्त्वपूर्ण ठाउँमा चुकेका छन्। पटकथामा थुप्रै अनुत्तरित प्रश्न छन् जसले दर्शकलाई खट्काउँछ। उदाहरणका लागि, युधिष्ठिरका चार भाइ भीम, अर्जुन, नकुल र सहदेव आखिर किन स्वर्ग छाडेर धर्तीमा आएका थिए ? त्यो स्पष्ट पारिएको छैन।

महेश विदेशबाट किन फर्किएका हुन् भन्ने पृष्ठभूमि पनि निकै फितलो छ। यसबाहेक चलचित्रको सुरुवाती दृश्यहरूमा प्रयोग गरिएको अनावश्यक र चर्को पृष्ठभूमि ध्वनिले दर्शकलाई रोमाञ्चित बनाउनुको साटो झर्को लाग्दो बनाउँछ।

अब कुरा गरौं यसको वरिपरि रचिएको तथाकथित धार्मिक विवादको।

चलचित्र विवादमा फस्नुको मुख्य कारण कथावस्तु नभई निर्माण पक्षको गैरजिम्मेवार प्रचार शैली हो। सुरुमा इभा गिरीलाई द्रौपदीको भेषभूषामा पोस्टरमार्फत सार्वजनिक गरियो, त्यसलगत्तै ‘राजा चाहिया छ’ भन्दै क्यासिनोमा बोल्ड अवतारमा नचाइयो।

धार्मिक प्रतीकको रूपमा द्रौपदी देखाउने र लगत्तै ग्ल्यामरस आइटम डान्स पस्कने निर्माण पक्षको यो रणनीति चलचित्रलाई जबर्जस्ती विवादमा तानेर ‘पब्लिसिटी स्टन्ट’ गर्ने सस्तो चालबाजी मात्र देखिन्छ।

रोचक कुरा, सिङ्गो चलचित्रभरि इभालाई कतै पनि ‘द्रौपदी’ भनिएको छैन, न त उनी त्यो अवतारमै छिन्। केवल सस्तो चर्चाका लागि धर्म र आस्थालाई विवादमा तान्नु निर्माण पक्षको कमजोरी हो।

सामान्य र तथ्यपरक प्रचारप्रसार गरेको भए चलचित्रले यो स्तरको नकारात्मक टीकाटिप्पणी खेप्नुपर्ने थिएन।

सबल पक्ष र निष्कर्ष

कमजोरीका बाबजुद चलचित्रमा केही सकारात्मक पक्षहरू पनि छन्। महिला पात्रहरूलाई दयाको पात्र नबनाई परिस्थितिसँग जुध्न सक्ने साहसी रूपमा चित्रण गरिनु यसको राम्रो पक्ष हो।

सङ्गीत संयोजन कर्णप्रिय छ। विशेषगरी ‘राजा चाहिया छ’ गीतले दर्शकको ध्यान खिच्न सफल भएको छ। इभाले मन्त्रीको भाइसँग आत्मरक्षाका लागि गरेको सङ्घर्षको दृश्य, एक्सन कोरियोग्राफी र क्यामेरा एंगल निकै उत्कृष्ट छ।

यी दृश्यहरूमा निर्देशकको काम तारिफयोग्य देखिन्छ।

समग्रमा, अत्यधिक अपेक्षा, पौराणिक कौतूहल वा धार्मिक आस्थाको भाव लिएर सिनेमाघर छिर्ने दर्शकलाई ‘पाँच पाण्डव’ ले निराश बनाउन सक्छ। तर, औसत कमेडी र सामान्य मिस्ट्री थ्रिलर हेर्न चाहने दर्शकका लागि भने यो एकपटक हेर्न सकिने सामान्य मनोरञ्जनात्मक चलचित्र बनेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।