काठमाडौँ । पदयात्रासम्बन्धी कानुन उल्लङ्घन गरी विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजान खोज्ने एक ट्रेकिङ एजेन्सीलाई अध्यागमन विभागले ५० हजार जरिवाना गरेको छ।
बेल्जियमका दुई नागरिकलाई आवश्यक पदयात्रा अनुमति नलिई डोल्पोबुद्ध गाउँपालिकातर्फ लैजान खोजेको आरोपमा गरिमा भ्वायज ट्राभल्स टुर्स एण्ड ट्रेक्स प्रालिलाई जरिवाना गरिएको विभागले जनाएको छ । एजेन्सीलाई अध्यागमन ऐन, २०४९ को दफा १०(४) बमोजिम कारबाही गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय डोल्पाबाट प्राप्त पत्र तथा घटनासम्बन्धी विवरण अध्ययन गर्दा एजेन्सीले प्रचलित कानुन उल्लङ्घन गरेको पाइएपछि जरिवाना गरिएको विभागले स्पष्ट पारेको छ ।

घटनामा संलग्न गाइडको व्यावसायिक आचरण र इजाजतपत्रसम्बन्धी विषयमा आवश्यक छानबिन गर्न पर्यटन विभाग र बागमती प्रदेशको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयलाई समेत पत्राचार गरिएको विभागले जनाएको छ ।
विभागले पदयात्रा अनुमति नलिई पर्यटकलाई कुनै पनि क्षेत्रमा नलैजान तथा अनुमति प्राप्त गर्दा तोकिएका सर्त पूर्ण रूपमा पालना गर्न ट्रेकिङ एजेन्सी र गाइडलाई आग्रह गरेको छ ।
अनुमतिबिना पर्यटकलाई निषेधित क्षेत्रमा लैजाने तथा सम्बन्धित निकायको निर्देशन अवज्ञा गर्ने जोकोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने विभागले चेतावनी दिएको छ ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।