नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारको भय र भ्रमबाट विचलित नहुने भन्दै कांग्रेसलाई लल्कार्ने प्रयास नगर्न चेतावनी दिएका छन्। साइबर ब्युरोले बोलाएपछि बिहीबार उपस्थित भएका शिवाकोटीले सरकारको गतिविधिको सशक्त प्रतिवाद गर्ने बताएका हुन्।
काठमाडौं बाहिर धार्मिक यात्रामा रहेका शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले फोन गरेर बोलाएको थियो। काठमाडौं फर्किएपछि ब्युरोमा उपस्थित भएका उनले सरकार आफ्ना आलोचकलाई तर्साएर सत्ता सञ्चालन गर्न खोजिरहेको आरोप लगाए।
‘प्रहरी लगाएर खोज्नुपर्दैन, म आफैँ आउँछु भनेर सामाजिक सञ्जालमा लेखेको थिएँ। अहिले तपाईंहरूकै बीचमा छु,’ उनले भने।

शिवाकोटीले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले भ्रम सिर्जना गर्ने र त्यसबाट नडराउनेहरूलाई भयभीत बनाउने गतिविधि गरिरहेको आरोप लगाए। कांग्रेसको इतिहास स्मरण गराउँदै उनले राणा शासन, पञ्चायत र राजाको प्रत्यक्ष शासनविरुद्ध संघर्ष गरेर आएको पार्टीलाई तर्साउन खोज्नु सरकारको भ्रम हुने बताए।
‘यदि प्रधानमन्त्री बालेन शाह र उनको टिमले दुस्साहस गर्छ भने त्यसको जवाफ सरकारले पनि पाउँछ र त्यसको मूल्य स्वयं प्रधानमन्त्रीले चुकाउनुपर्छ,’ उनले चेतावनी दिए।
उनले प्रहरी हिरासतमा रहेका इनम सापकोटासँग जोडिएको १८ करोड रुपैयाँको प्रसंगलाई पनि राजनीतिक रूपमा कांग्रेस नेतृत्वलाई निशाना बनाउन मञ्चन गरिएको बताए।
शिवाकोटीले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाइएको घटनासँग पनि उक्त प्रकरण जोडिएको दाबी गर्दै प्रहरी नेतृत्वलाई राजनीतिक स्वार्थअनुसार परिचालन गर्न खोजिएको उनको भनाइ छ।
सरकारका गतिविधिप्रति कांग्रेसले निरन्तर प्रश्न उठाउँदै आएको उल्लेख गर्दै उनले सरकारले आफ्नो शैली नसच्याए त्यसको परिणाम सरकारकै लागि घातक हुने बताए।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।