विज्ञापन
समाज

दुर्गम गाउँका विद्यार्थीले पहिलोपटक सिके रोबोटिक्स र प्रविधिको सीप

जुम्लाको दुर्गम बस्तीका विद्यार्थीलाई किताबी ज्ञानसँगै विज्ञान, प्रविधि र नवप्रवर्तनको व्यावहारिक सीप प्रदान गरिएको छ।

गुठिचौर गाउँपालिका-५ स्थित त्रिभुवन माध्यमिक विद्यालय झारज्वालामा रोबो युवा संस्थाको आयोजनामा सञ्चालित ‘प्रोजेक्ट प्रयास’ अन्तर्गत १० दिने सीपमूलक प्रशिक्षण सम्पन्न भएको हो। जुम्लाका २ सय बढी सामुदायिक विद्यालयहरूमध्ये पहिलोपटक रोबोटिक्स र प्रविधिको सीप आफैँले नयाँ प्रविधि निर्माण गर्ने सीपसमेत सिक्न थालेका छन्। प्रशिक्षणमा विद्यार्थीलाई रोबोटिक्स, व्यावहारिक इलेक्ट्रोनिक्स, कन्टेन्ट क्रिएसन, कला, अनलाइन सुरक्षा तथा साइबर जोखिम न्यूनीकरणलगायतका विषयमा सीप सिकाइएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर भण्डारीले १० दिनसम्म सञ्चालन भएको प्रशिक्षणबाट विद्यार्थीले राम्रो सीप र ज्ञान हासिल गरेको बताए। काठमाडौंबाट जुम्लाको दुर्गम भूगोलमा पुगेर चिसो मौसममा समेत विद्यार्थीलाई प्रविधिसम्बन्धी सीप सिकाएको भन्दै उनले खुसी व्यक्त गरे। यस्ता कार्यक्रमले विद्यार्थीको सिर्जनशीलता, क्षमता र सिकाइ प्रक्रियामा महत्त्वपूर्ण टेवा पुग्ने उनको भनाइ छ।

विज्ञापन

कार्यक्रममा संविधानसभा सदस्य तथा कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री नरेश भण्डारीले अहिलेका विद्यार्थीका लागि प्राविधिक सीप अपरिहार्य रहेको बताए। किताबको ज्ञान मात्रै पर्याप्त नहुने भन्दै उनले विज्ञान, प्रविधि र आविष्कारसँग जोडिएको व्यावहारिक ज्ञान आजको आवश्यकता भएको उल्लेख गरे।

‘हाम्रा विद्यार्थीमा पनि नयाँ नयाँ कुरा आविष्कार गर्ने सामर्थ्य छ। उनीहरूमा वैज्ञानिक बन्ने क्षमता र प्रतिभा छ। अभाव केवल सही आइडिया र प्राविधिक ज्ञानको हो। धेरै वैज्ञानिक जन्माउन सक्ने क्षमता कर्णाली र जुम्लाका विद्यार्थीमा छ,’ उनले भने, ‘थोमस जस्ता वैज्ञानिक पनि हाम्रै कर्णाली र जुम्लामा जन्मन सक्ने क्षमता विद्यार्थीमा छ। यहाँका विद्यार्थीले गाडीजस्ता उपकरण निर्माण गरेको देख्दा उनीहरूको सिर्जनशीलता र कल्पनाशक्ति प्रस्ट हुन्छ।’

भण्डारीले यस्ता सीपमूलक कार्यक्रमलाई एउटा विद्यालयमा मात्रै सीमित नराखी घरघर र गाउँगाउँसम्म विस्तार गर्नुपर्ने बताए। यसमा स्थानीय सरकारले अपनत्व लिएर प्रविधि र आविष्कारसम्बन्धी कार्यक्रमलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ।

उनले कर्णाली प्रदेशमा आफूले दर्ता गरेको विज्ञान तथा प्रविधिसम्बन्धी विधेयकको उद्देश्यसमेत विद्यार्थीलाई जानकारी गराए। विज्ञान तथा प्रविधिका क्षेत्रमा नवप्रवर्तन, अन्वेषण तथा आविष्कार गर्दै प्रतिभाशाली वैज्ञानिक र प्राविधिक जनशक्तिलाई परिचालन गरी समृद्धियुक्त समाज निर्माण गर्नु विधेयकको मुख्य उद्देश्य रहेको उनले बताए।

‘कर्णालीको समृद्धिका लागि विभिन्न क्षेत्रका प्रतिभालाई केन्द्रित गरी उनीहरूको उत्पादनको बजारीकरण गर्ने र आविष्कारलाई प्रोत्साहन गर्ने उद्देश्य हो। यसले पलायन हुँदै गरेका प्रतिभालाई उत्पादनसँग जोड्नेछ। नयाँ अवधारणा ल्याउनेलाई आर्थिक सहयोग गर्ने अर्थात् नयाँ अवधारणा ल्याऊ, पैसा लिएर जाऊ भन्ने नीति हो,’ भण्डारीले भने।

उनले कर्णालीले अब आविष्कारको नेतृत्व गर्नुपर्नेमा जोड दिए। ‘कर्णालीले अब आविष्कारको नेतृत्व गर्छ। असम्भव भनिएका कुरासमेत सम्भव गरेर देखाउँछ। अब्बल मस्तिष्कहरूको सम्मान गर्दै इनोभेसनलाई कर्णालीले स्थान दिन्छ,’ उनले भने। उक्त विधेयकमा विज्ञान तथा प्रविधिका विषयमा प्राथमिकताका आधारमा अध्ययन, अनुसन्धान, विकास तथा प्रवर्द्धन गर्ने व्यवस्था पनि रहेको उनले बताए।

रोबो युवा संस्थाकी अध्यक्ष सेलिना वैधले संस्थाको स्थापना सन् २०२४ जुन महिनामा भएको जानकारी दिइन्। ग्रामीण विद्यालयबिच रहेको डिजिटल ज्ञान तथा सीपको खाडल न्यूनीकरण गर्ने उद्देश्यले ‘प्रोजेक्ट प्रयास’ अन्तर्गत १० दिने प्रशिक्षण सञ्चालन गरिएको उनले बताइन्।

उनका अनुसार कार्यक्रममा रोबोटिक्स, व्यावहारिक इलेक्ट्रोनिक्स, कन्टेन्ट क्रिएसन, कला, अनलाइन सुरक्षा तथा साइबर जोखिम न्यूनीकरणसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। नेपालमा रोबोटिक्स, एम्बेडेड सिस्टम र व्यावहारिक अनुसन्धानको क्षेत्रमा युवाहरूको पहुँच बढाउनु तथा देशभित्रै प्राविधिक समाधान विकास गर्नु संस्थाको मुख्य लक्ष्य रहेको उनले बताइन्।

संस्थाले युवा नवप्रवर्तकका लागि अत्याधुनिक ल्याबको व्यवस्था गर्ने, हार्डवेयर प्रोटोटाइपिङ सिकाउने तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन आवश्यक मार्गदर्शन प्रदान गर्ने काम गर्दै आएको छ। प्रविधि र नवप्रवर्तनका क्षेत्रमा युवालाई सशक्त बनाउन विभिन्न स्थानमा पुगेर ‘प्रयास’ जस्ता अभियान तथा कार्यक्रम सञ्चालन गरिरहेको वैधले बताइन्।

उनका अनुसार अभियानअन्तर्गत जुम्लाजस्ता ग्रामीण क्षेत्रका बालबालिकाका लागि कक्षाकोठाभन्दा बाहिर आँगनसम्म पुगेर सिर्जनशील र प्रयोगात्मक प्रविधि कार्यशाला सञ्चालन गरिन्छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमा मात्रै सीमित नराखी आफैँले प्रयोग गर्ने, निर्माण गर्ने र नयाँ कुरा सिक्ने वातावरण बनाउनु अभियानको उद्देश्य रहेको उनले स्पष्ट पारिन्।

प्रशिक्षणमा सहभागी त्रिभुवन माध्यमिक विद्यालय झारज्वालाका कक्षा ८ मा अध्ययनरत विद्यार्थी प्रशान्त भण्डारीले विद्यार्थीका लागि सीप अनिवार्य हुनुपर्ने बताए। छोटो अवधिको प्रशिक्षणबाट पनि राम्रो ज्ञान र सीप हासिल गर्न सकेको उनको भनाइ छ। जीवन उपयोगी सीपले विद्यार्थीको सिकाइ र भविष्यको बाटो परिवर्तन गर्न सक्ने उनले बताए।

त्यस्तै, कक्षा ९ मा अध्ययनरत छात्रा जुनतारा बुढाथोकी मगरले पुरानै सिकाइ पद्धतिले मात्रै विद्यार्थीको ज्ञान र क्षमतामा अपेक्षित सुधार नहुने बताइन्। यस्ता प्रयोगात्मक सिकाइ र प्राविधिक ज्ञानलाई विद्यालय तहदेखि नै प्राथमिकता दिनुपर्ने उनको धारणा छ।

‘हामीमा पनि वैज्ञानिक बन्ने क्षमता र प्रतिभा छ। तर, त्यसका लागि आवश्यक आइडिया र सीपको खाँचो छ। यस्तै प्रकारका प्रशिक्षणले नयाँ कुरा सिक्न र आफ्नो क्षमता पहिचान गर्न सहयोग गर्छ,’ उनले भनिन्।

अर्का विद्यार्थी अंकित चौलागाईंले पनि नयाँ कुरा सिक्न र आविष्कार गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको बताए। यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उनले सरकारले नै यस्तो खालको शिक्षालाई नीतिमा समेट्नुपर्ने बताए।

‘विद्यार्थीले पनि नयाँ नयाँ कुरा आविष्कार गर्न सक्छन् भन्ने हौसला मिलेको छ। यस्तो सीपमूलक कार्यक्रम निरन्तर हुनुपर्छ। सरकारले शिक्षाको नीतिमै यस्ता कार्यक्रम समेट्नुपर्छ। स्थानीय सरकारले पनि यसको प्रोत्साहन गर्नुपर्छ,’ उनले भने।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।