कालीगण्डकी करिडोर सडकमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ।
उक्त सडकअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्से सडकखण्डमा सडक माथिबाट सुक्खा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली अहिले पहिरो गएको स्थानमा खटिसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
कालीगण्डकी गाउँपालिका र प्रहरीको समन्वयमा सडकमा थुप्रिएको पहिरो हटाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन्।

सडक अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा, बुटवल, बागलुङ, पर्वत, म्याग्दी तथा पोखरासम्म आवतजावत जाने सम्पूर्ण सवारीसाधन तथा यात्रुबीच बाटोमै रोकिएका छन्। सडक माथिबाट चट्टानसहितको सुक्खा पहिरो झरिरहेका कारण पहिरो पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ। रासस



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।