त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सहलेश फुटबल क्लब सिराहाले आयोजक गाईघाट फुटबल क्लबलाई २–१ गोलले पराजित गरेको छ।
उदयपुरको थरुहट रंगशालामा शनिबार भएको खेलमा गाईघाटका अर्जुन रानाले २८औँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर, खेलको अन्तिम समयमा सहलेशका विज्ञान खड्का र आदित्य शाक्यले लगातार गोल गर्दै टोलीलाई जित दिलाए। खड्काले ७२औँ मिनेटमा हेडमार्फत बराबरी गोल गरे भने त्यसको छ मिनेटपछि शाक्यले निर्णायक गोल गरे।
खेलको म्यान अफ दी म्याच सहलेशका दोर्जे तामाङ घोषित भए। उनले नगद सात हजार पाँच सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

प्रतियोगिताको दोस्रो दिन आइतबार न्यु स्टार क्लब सुनसरी र चित्लाङ एफसी काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ। कात्तिक २१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगितामा भारतको जर्जियन युथ क्लबसहित विभिन्न टोली सहभागी छन्।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।