विज्ञापन
शिक्षा

ज्ञान, अध्ययन र सिर्जनाको त्रिवेणी ‘त्रिफला’

झापा।हातहातमा ‘स्मार्टफोन’, सामाजिक सञ्जालको ‘भर्चुअल’ दुनियाँ। यसैमा रमाइरहेको आजको पुस्ता तर झापाको मेचीनगर–१० धुलाबारीस्थित त्रिफला राष्ट्रिय पुस्तकालयमा भने फरक दृश्य देखिन्छ।

चारैतिर पुस्तकका पंक्तिबीच युवा मोबाइलको स्क्रिनमा होइन, पुस्तकका पानामा नजर दौडाउँदै अध्ययनमा तल्लीन भेटिन्छन्। कोही चार्टर्ड एकाउन्टेन्सी (सिए) को तयारीमा छन्, कोही लोकसेवाको परीक्षाको अध्ययनमा जुटेका छन् त कोही चिकित्सकको लाइसेन्स परीक्षा उत्तीर्ण गर्ने लक्ष्यसहित पढिरहेका छन्।

तीमध्ये एक हुन्, मेचीनगर–१० का प्रशान्त चौधरी। चार्टर्ड एकाउन्टेन्सी अध्ययन गरिरहेका उनको विगत एक वर्षदेखि पुस्तकालय आउने–जाने दैनिकी बनेको छ। हरेक दिन आफ्नो ‘कोर्षबुक’ बोकेर पुस्तकालय पुग्ने उनी दैनिक चारदेखि पाँच घण्टा यहाँ बिताउँछन्। पुस्तकालयको शान्त वातावरण उनका लागि अध्ययनको आधार बनेको छ।

विज्ञापन

“पुस्तकालयमा शान्त र अध्ययनका लागि उपयुक्त वातावरण छ। घरमाभन्दा यहाँ बसेर पढ्दा बढी एकाग्र हुन सकिन्छ। चारैतिर पुस्तक देख्दा पनि पढ्न प्रेरणा मिल्छ”, चौधरी भन्छन्, “त्यसैले आफ्नो कोर्षबुक बोकेर दैनिक चारदेखि पाँच घण्टा यहाँ अध्ययन गर्ने गरेको छु। सीए अध्ययनका लागि नियमित अभ्यास र एकाग्रता आवश्यक पर्ने भएकाले पुस्तकालय मेरो अध्ययनको राम्रो थलो बनेको छ।”

उनी जस्तै मेचीनगर–९ की यमुना तिम्सिना पनि अध्ययनका लागि केही दिनयता नियमित पुस्तकालय आउन थालेकी छन्। अध्ययनका लागि अनुकूल वातावरण खोज्दै पुस्तकालय पुग्ने उनी नयाँ पाठकमध्ये एक हुन्। मेचीनगर–१० की डा. समीक्षा खड्का भने एमबिबीएस अध्ययन पूरा गरेर चिकित्सकको लाइसेन्स परीक्षाको तयारी गरिरहेकी छन् । उनी दुई महिनादेखि नियमित रूपमा पुस्तकालयमा अध्ययन गर्दै आएकी छन् ।

“घरमा एक्लै पढ्दा कहिलेकाहीँ एकोहोरो लाग्छ। पुस्तकालयमा शान्त वातावरण र पारिवारिक माहोल छ। यहाँ आउँदा मन पनि शान्त हुन्छ र पढाइमा ध्यान दिन सजिलो हुन्छ”, खड्का भन्छिन्। यी तीनै जना फरक शैक्षिक लक्ष्य बोकेर पुस्तकालय पुग्छन्। उनीहरूका लागि पुस्तकालय केबल पुस्तक पढ्ने ठाउँ मात्र होइन, आफ्नो भविष्य निर्माणका लागि एकाग्र भएर समय बिताउने साझा थलो बनेको छ।

पठन संस्कृति कमजोर हुँदै गएको चर्चा भइरहँदा पुस्तक पढ्ने बानी साँच्चै हराउँदै गएको हो वा त्यसका लागि उपयुक्त वातावरण र अवसरको अभाव छ भन्ने प्रश्न पनि उठ्छ। चौधरी भन्छन्, “पढ्ने रुचि भएका विद्यार्थीलाई शान्त वातावरण र आवश्यक पुस्तक उपलब्ध गराउन सकियो भने पठन संस्कृतिलाई अझै बलियो बनाउन सकिन्छ। पुस्तकालय त्यसका लागि उपयुक्त थलो हो।”

त्रिफला राष्ट्रिय पुस्तकालयकी कर्मचारी चन्द्रकला भट्टराईका अनुसार दैनिक १० देखि १५ जना पाठक नियमित रूपमा अध्ययनका लागि आउने गरेका छन्। बिदाका दिन कतिपय विद्यालयबाट विद्यार्थीलाई पुस्तकालय भ्रमण गराउने गरिएको छ। “यहाँ दैनिक नियमित रूपमा अध्ययन गर्न आउने पाठक हुनुहुन्छ। लोकसेवाको तयारी गर्ने विद्यार्थी पनि आउनु हुन्छ। विद्यालयबाट विद्यार्थीलाई पुस्तकालयबारे जानकारी दिन र अवलोकन गराउन पनि ल्याउने गरिएको छ”, भट्टराईले भनिन्।

पुस्तकालयमा विद्यार्थीको नियमित उपस्थिति र विद्यालयबाट हुने भ्रमणले नयाँ पुस्तालाई पुस्तक तथा पठन संस्कृतिसँग जोड्ने अवसर दिएको छ। अध्ययनका लागि शान्त ठाउँ खोज्ने विद्यार्थी र पुस्तकको संसारसँग परिचित हुन आउने बालबालिका दुवैका लागि पुस्तकालय उपयोगी बनिरहेको छ।

विसं २०५३ वैशाख १ गते केही पुस्तकबाट सुरु भएको त्रिफला राष्ट्रिय पुस्तकालयले आफ्नो तीन दशक लामो यात्रामा अहिले ५० हजारभन्दा बढी पुस्तक तथा पत्रपत्रिका संग्रह भएको संस्थाका रूपमा आफूलाई विकसित गरेको छ। धुलाबारी माध्यमिक विद्यालयको प्राङ्गणबाट सुरु भएको यसको यात्रा भाडाका कोठा हुँदै आफ्नै तीनतले भवनसम्म आइपुगेको हो।

पुस्तकालयको पहिलो तलामा पुस्तकालय, वाचनालय र कार्यालय छन्। दोस्रो तलामा साहित्यिक, शैक्षिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सभाहल छ। तेस्रो तलामा साहित्यकार तथा अतिथिका लागि आवासीय कक्ष बनाइएका छन्। यसले पुस्तकालयलाई अध्ययनसँगै साहित्यिक भेटघाट र विचार आदानप्रदानको केन्द्रका रूपमा विकास गरेको छ।

पुस्तकालयका संस्थापक अध्यक्ष प्रेमप्रकाश पोखरेल ‘फलाहारी’ पुस्तकालयलाई पुस्तक थुपारेर राख्ने ठाउँमा मात्र सीमित गर्न नहुने बताउँछन्। “पुस्तकमा ज्ञानको ठूलो भण्डार हुन्छ। त्यसलाई पढ्ने, बुझ्ने र नयाँ पुस्तासम्म पुर्‍याउने वातावरण बनाउनु पर्छ। पुस्तकालयको उद्देश्य पुस्तक सुरक्षित राख्नु मात्रै होइन, मानिसमा पढ्ने बानीको विकास गर्नु पनि हो”, उनले भने।

सीमापारिका नेपाली स्रष्टाको साझा थलो

त्रिफला राष्ट्रिय पुस्तकालयको पहिचान विद्यार्थीको अध्ययनमा मात्र सीमित छैन। पूर्वी नेपालका साहित्यकारको जमघट हुने थलोका रूपमा यसको छुट्टै महत्व छ। भारतको दार्जिलिङ, सिक्किम, आसाम र मणिपुरसम्मका नेपाली भाषी स्रष्टाका कृति यहाँ संग्रहित छन् ।

विदेशमा रहेका नेपाली साहित्यकार तथा शुभचिन्तकले आफ्ना प्रकाशित पुस्तक समेत पुस्तकालयमा पठाउने गरेका छन्। यसले भौगोलिक दूरीका कारण टाढा रहेका नेपालीभाषी लेखक, पाठक र साहित्यिक समुदायलाई एउटै साझा थलोमा जोडेको छ। यहाँ संग्रहित कृति नेपाली भाषा, साहित्य र संस्कृतिसम्बन्धी अध्ययनका लागि उपयोगी स्रोत बनेका छन्।

साहित्यकार तथा पत्रकार देवेन्द्रकिशोर ढङ्गानाका अनुसार त्रिफला पुस्तकालय पछिल्लो समय साहित्य, कला र संगीतको केन्द्रका रूपमा विकसित हुँदै गएको छ। “पुस्तक पढ्नु भनेको ज्ञानको दायरा फराकिलो बनाउनु हो। त्रिफलाले पुस्तक संग्रह गर्ने कामसँगै साहित्यकारलाई भेटघाट गर्ने, विचार आदानप्रदान गर्ने र सिर्जनाबारे छलफल गर्ने ठाउँ दिएको छ। पुस्तकालयको यस्तो भूमिका पठन संस्कृतिको विकासका लागि महत्वपूर्ण छ”, ढुङ्गाना भन्छन्।

पुस्तकालयमा नियमित अध्ययन गर्ने विद्यार्थी र साहित्यिक कार्यक्रममा सहभागी हुने स्रष्टाका उद्देश्य फरक छन् तर दुवैलाई जोड्ने साझा माध्यम पुस्तक र ज्ञानप्रतिको रुचि हो। यस अर्थमा त्रिफला अध्ययन र सिर्जनाबीचको सम्बन्ध जोड्ने साझा चौतारी बनेको छ।

एक व्यक्तिको संकल्प, हजारौंको साथ

त्रिफला राष्ट्रिय पुस्तकालयको आजको स्वरूप पछाडि संस्थापक प्रेमप्रकाश पोखरेल ‘फलाहारी’को लामो संघर्ष र सयौं दाताको योगदान जोडिएको छ। सामान्य परिवारमा जन्मिएका फलाहारीले नुन, अन्न र जुत्ताचप्पल त्यागेर गेरुवा बस्त्र धारण गरेपछि पुस्तकालय स्थापनाका लागि सहयोग जुटाउन देशका विभिन्न ठाउँमा पैदलयात्रा गरेका थिए।

सुरुका दिनमा उनको अभियानलाई समाजका सबैले सहज रूपमा स्वीकार गरेका थिएनन्। कसैले असामान्य ठाने, कसैले आलोचना गरे। तर, उनले पुस्तकालय स्थापनाको लक्ष्य छाडेनन्। पुस्तक र ज्ञानको महत्व बुझाउँदै सहयोग जुटाउने प्रयास निरन्तर अघि बढाए। पुराना दिन सम्झँदै फलाहारी भन्छन्, “सुरुका दिनमा पुस्तकालय बनाउने काम सजिलो थिएन। धेरै ठाउँमा पुग्नु पर्‍यो, सहयोग माग्नु पर्‍यो र विभिन्न कठिनाइ सामना गर्नुपर्‍यो। तर, ज्ञान सबैका लागि आवश्यक छ भन्ने विश्वासले यो काम निरन्तर अघि बढाएँ।”

स्थानीय जग्गादाता, साहित्यकार, समाजसेवी तथा पुस्तकप्रेमीको सहयोगले पुस्तकालयले क्रमशः आफ्नै जग्गा र भवन प्राप्त गर्‍यो। स्थानीय छत्रबहादुर बस्नेत र देवेन्द्रविक्रम नेम्वाङलगायतले जग्गा उपलब्ध गराउन सहयोग गरे भने विभिन्न दाताले पुस्तक र आर्थिक सहयोग प्रदान गरे।

पुस्तकालयका संस्थापक तथा आजीवन सदस्यको संख्या एक हजारभन्दा बढी र साधारण सदस्य पाँच हजारभन्दा बढी रहेको फलाहारी बताउँछन्। “कसैले जग्गा दिनुभयो, कसैले पुस्तक दिनुभयो, कसैले आर्थिक सहयोग गर्नुभयो। धेरै व्यक्तिको सहयोग र विश्वास नभएको भए पुस्तकालय आजको अवस्थामा पुग्न सक्ने थिएन,” उनी भन्छन्।

फलाहारीको व्यक्तिगत संकल्पबाट सुरु भएको अभियान आज सामूहिक ज्ञानसम्पत्तिका रूपमा विकसित भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट २०७७ सालमा देशकै उत्कृष्ट पुस्तकालयको सम्मान प्राप्त गर्नु पनि यसको यात्राको महत्त्वपूर्ण उपलब्धि हो।

संरक्षणको चुनौती

पुस्तकालयको विकाससँगै यसको दीर्घकालीन संरक्षणको प्रश्न पनि महत्वपूर्ण बनेको छ। पचास हजारभन्दा बढी पुस्तक तथा पत्रपत्रिकालाई व्यवस्थित राख्न, सूचीकरण गर्न र पुराना कृतिलाई सुरक्षित गर्न दक्ष जनशक्ति तथा पर्याप्त आर्थिक स्रोत आवश्यक पर्छ। कोशी प्रदेश सरकारबाट प्राप्त अनुदानपछि पुस्तकको ‘बाइन्डिङ’ र ‘क्याटलगिङ’को काम सुरु गरिए पनि सबै पुस्तक व्यवस्थित गर्न अझै धेरै काम बाँकी छ।

फलाहारी भन्छन्, “पुस्तकालयमा धेरै पुराना र दुर्लभ पुस्तक छन्। तिनलाई सुरक्षित राख्नु हाम्रो जिम्मेवारी हो। त्यसका लागि दक्ष कर्मचारी, आर्थिक स्रोत र व्यवस्थित संरक्षण प्रणाली आवश्यक छ।” उनले स्थानीय तहबाट अपेक्षित सहयोग नपाएको गुनासो गरे। भविष्यमा पुस्तकालयको भवन विस्तार गरी व्यवस्थित वाचनालय र सङ्ग्रहालय समेत स्थापना गर्ने योजना रहेको उनले सुनाए। यसले अध्ययन, अनुसन्धान, पुस्तक संरक्षण र ज्ञानसम्बन्धी गतिविधिलाई थप व्यवस्थित बनाउनसक्ने उनको अपेक्षा छ।

पुस्तकालयको क्षेत्रगत विकासका लागि कोशी प्रदेश पुस्तकालय संघ नेपालले पनि भूमिका खेलिरहेको छ। संघका सल्लाहकार उद्धव विष्टका अनुसार पुस्तकालयलाई ज्ञान र सीपको खुला केन्द्रका रूपमा विकास गर्न आवश्यक छ। “पुस्तकालय भनेको पुस्तक राख्ने ठाउँ मात्रै होइन, ज्ञान र सीप हासिल गर्ने साझा केन्द्र हो।

पुस्तकालयलाई जीवन्त राख्न समुदायको सहभागिता, नियमित पठन गतिविधि र संस्थागत सहयोग आवश्यक हुन्छ”, विष्टले भने। संघकी कोषाध्यक्ष राधा घिमिरे पनि पुस्तकालयको दिगो विकास र पठन संस्कृतिको विस्तारमा पुस्तकालय क्षेत्रका संस्थाको भूमिका महत्वपूर्ण हुने बताउँछिन्। “पुस्तकालयलाई व्यवस्थित बनाउने र नयाँ पुस्तालाई पुस्तकसँग जोड्ने कामलाई प्राथमिकता दिनुपर्छ”, उनले भनिन्।

त्रिफला राष्ट्रिय पुस्तकालयको कथा केबल भवन निर्माण, पुस्तक संकलन वा सम्मान प्राप्तिको कथा होइन। यो ज्ञानप्रतिको समर्पण, सामूहिक सहयोग र पठन संस्कृतिलाई जीवित राख्ने प्रयासको कथा पनि हो।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

शिक्षा बाट थप

थप — शिक्षा

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।