ब्रेकिङ न्युज
विज्ञापन
समाज

जुम्लामा बालविवाहको घाउ अझै उस्तै

७२ वर्षीय मनप्रसाद शर्मा अहिले विगत सम्झँदा पश्चात्तापमा डुब्छन्। जुम्लाको सिंजा गाउँपालिका-२ रनुखानाका उनले १३ वर्षकै उमेरमा ११ वर्षीया बालिकासँग विवाह गरेका थिए। बाल्यकालमै सुरु भएको वैवाहिक जीवनले शिक्षा खोस्यो, श्रीमतीको स्वास्थ्य बिगार्‍यो र परिवारलाई जीवनभरको पीडा दियो। ‘बालविवाह गर्दा निकै कष्ट भोग्नुपर्‍यो’, उनी भन्छन्, ‘बालविवाहको असर अहिले देखिन थालेको छ। निकै पश्चात्तापमा छु।’

विवाह भएको केही समयमै उनकी श्रीमती १२ वर्षको उमेरमा गर्भवती भइन्। प्रजनन क्षमता पूर्ण रूपमा विकास नभइसकेको अवस्थामा गर्भवती हुँदा स्वास्थ्यमा समस्या देखियो। श्रीमतीको पाठेघरमा समस्या देखिनुका साथै बच्चा जन्माउन कठिनाइ भएको शर्मा बताउँछन्। ‘बालविवाह समाजको कुरीति मात्र होइन, ठुलो अपराध पनि हो’, उनी भन्छन्, ‘हामीले पनि सानै उमेरमा विवाह गर्दा धेरै दुःख पायौं।’

अहिले उनी आफ्ना छोराछोरीदेखि छरछिमेकका बालबालिकासम्मलाई बालविवाह नगर्न सम्झाउँदै आएका छन्। उनको सन्देश छ, ‘मैले त दुःख पाएँ, सन्ततिलाई बालविवाह गर्न दिन्नँ।’

विज्ञापन

यस्तै सिंजा– १ की बिउरी सार्कीले ११ वर्षमै विवाह गरिन्। उमेर नपुग्दै विवाह र मातृत्वको जिम्मेवारीमा पर्दा स्वास्थ्यमा समस्या आएको उनको अनुभव छ। ‘बालविवाह गर्दा धेरै दुःख पाएँ। अहिले स्वास्थ्य अवस्था पनि नाजुक छ’, उनी भन्छिन्।

सिंजा– ६ की ७१ वर्षीया पुन्नकली बुढाले त १० वर्षकै उमेरमा विवाह गरिन्। मातृत्वको चक्रमा पर्दा उनका दुई छोरा गुमे भने एक गर्भ खेर गयो। ‘हामीले दुःख पायौं, अब छोरी–बुहारीले त्यही पीडा भोग्न नपरोस्’, उनी भन्छिन्, ‘कम उमेरमा विवाह गर्नु भनेको भविष्यसँग खेलबाड गर्नु हो।’

पातारासी गाउँपालिका– ६ की ७३ वर्षीया धनलक्ष्मी सार्कीले १३ वर्षमै विवाह गरिन्। अहिले उनका चार छोरी र पाँच छोरा छन्। तर उनका सातवटा बच्चा खेर गए। केही गर्भमै खेर गए भने केही महिना दिन नपुग्दै गुमे। बालविवाहका स्वास्थ्य प्रभावबारे आफूलाई कुनै जानकारी नभएको उनी बताउँछिन्। ‘अन्जानमा बालविवाह गरेर बन्धनमा बाँधिन पुगें। आमाबुबाले नै केटो मागिदिनुभयो’, उनी भन्छिन्।

पहिले गर्भमै छोरी दिने–माग्ने चलन रहेको र बाबुआमाको इज्जत तथा प्रतिष्ठाका लागि विवाह गर्नुपरेको उनको भनाइ छ। धनलक्ष्मी अहिले भने बालविवाहविरुद्ध गाउँमा बोल्छिन्। ‘अन्जानवस मैले त सानै उमेरमा विवाह गरें। परिपक्व उमेर भएपछि मात्र विवाह गर्नुपर्छ’, उनी भन्छिन्।

उनका अनुसार सानै उमेरमा प्रेम भए पनि उमेर पुगेपछि मात्र विवाह गर्नुपर्छ। ‘बालविवाह गर्दा स्वास्थ्यका हिसाबले अवस्था नाजुक हुन्छ। गाउँमा बालविवाह रोक्न अनेक प्रयत्न गरिरहेका छौं’, उनी भन्छिन्। उक्त गाउँपालिका– ७ की ६५ वर्षीया पुनी थापाले पनि ११ वर्षमै विवाह गरिन् र १४ वर्षमा छोरी जन्माइन्। ‘अहिले स्वास्थ्य ठिक छैन। पछुतो लाग्छ’, उनी भन्छिन्।

५८ वर्षीया राजकली थापाका अनुसार बालविवाहका कारण धेरै किशोरी–किशोरले बिचमै पढाइ रोक्नुपरेको छ। कार्यबोझ र स्वास्थ्य समस्या पनि थपिन्छ। केहीले अकालमै मृत्युवरण गर्नुपरेको उनको भनाइ छ। ‘हामी चाहन्छौं’, उनी भन्छिन्, बालविवाहमा हुने भोजभतेर बहिस्कार गर्नुपर्छ र बालविवाहजन्य गतिविधिमा प्रतिबन्ध लगाउनुपर्छ। ‘सचेतना र कानुनी ज्ञानसँगसँगै अघि बढाउनुपर्ने देखिएको छ। यसमा तीनवटै तहका सरकारको ध्यान केन्द्रित गर्नुपर्छ’, उनी भन्छिन्।

सिंजा गाउँपालिकाको तथ्यांकले बालविवाह बढ्दो देखिन्छ। सन् २०२१ मा भएका १ सय ६० विवाहमध्ये १ सय १७ बालविवाह थिए अर्थात् ७३ प्रतिशत। २०२२ मा १ सय ४१ विवाहमध्ये ६७ बालविवाह अर्थात् ४८ प्रतिशत, २०२३ मा १ सय ३९ मध्ये ३९ अर्थात् २८ प्रतिशत र २०२४ मा २ सय ६५ मध्ये ३३ अर्थात् १२ प्रतिशतमा झरेको थियो। तर २०२५ मा फेरि २ सय ३७ विवाहमध्ये ६० बालविवाह भएपछि अनुपात २५ प्रतिशत पुगेको छ। तथ्यांकले सुधारसँगै चुनौती फेरि फर्किएको छ। जुम्लाको एक नगरपालिका र सात गाउँपालिका गरी जिल्लाका ६० वटै वडामा बालविवाह समस्या रहेको सरोकारवाला बताउँछन्।

हालसम्म २४ वडा बालविवाहमुक्त घोषणा भए पनि ३६ वडा अझै घोषणा हुन बाँकी छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी सालिकराम खनालका अनुसार अहिलेसम्म बालविवाहसम्बन्धी मुद्दा दर्ता भएका छैनन्।

कानुनले २० वर्षभन्दा कम उमेरमा हुने विवाहलाई बालविवाह मानेको छ। मुलुकी अपराध संहिता ऐन, २०७४ अनुसार बालविवाह गर्ने वा गराउनेलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ। स्वास्थ्य सेवामा पुगेका किशोरीको संख्या भने बढ्दो छ। जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख किरण शर्माका अनुसार आर्थिक वर्ष २०८०/८१ मा २० वर्षमुनिका १ हजार १ सय ३० गर्भवती आमाले स्वास्थ्य जाँच गराएका थिए।

२०८१/८२ मा यो संख्या १ हजार १ सय ९८ पुग्यो भने २०८२/८३ मा १ हजार ५ सय ४ पुगेको छ। कम उमेरमै विवाह र मातृत्वले किशोरीको स्वास्थ्यमा पार्ने असरबारे स्वास्थ्य क्षेत्रमा समेत निरन्तर चुनौती रहेको देखिन्छ।

कर्णालीमा ४३.६ प्रतिशतले २० वर्ष नपुग्दै विवाह गर्ने गरेको तथ्यांक छ। यसमा किशोरीको हिस्सा ५५.६ प्रतिशत र किशोरको २९.२ प्रतिशत छ। १५ वर्ष नपुग्दै विवाह गर्ने दर २ प्रतिशत तथा १८ वर्ष नपुग्दै विवाह गर्ने दर २०.१ प्रतिशत छ, जुन राष्ट्रिय औसतभन्दा धेरै हो। जिल्लागत रूपमा सल्यानमा २४.३ प्रतिशत, रुकुमपश्चिममा २३.७, जाजरकोटमा २२.१, मुगुमा २०.२ र सुर्खेतमा १९.५ प्रतिशत बालविवाह हुने गरेको तथ्यांक छ। जुम्लामा पनि १७.९ प्रतिशत बालविवाह हुने गरेको छ, जहाँ महिलाको हिस्सा २६ प्रतिशत छ।

सरकारी तथ्यांकअनुसार कर्णालीमा बालविवाहविरुद्धका प्रयास प्रभावहीन देखिएका छन्। घटना प्रहरीसम्म कमै पुग्ने गरेका छन्। पछिल्लो तीन आर्थिक वर्षमा कर्णालीमा जम्मा ४८ वटा बालविवाहसम्बन्धी मुद्दा दर्ता भएका छन्। दैलेखमा १८, सुर्खेतमा १४, सल्यानमा ७, कालिकोटमा ६ र हुम्लामा ३ मुद्दा दर्ता भएका छन्।

सरकारले सन् २०३० सम्म नेपाललाई बालविवाहमुक्त मुलुक बनाउने लक्ष्य लिएको छ तर जुम्लाका वृद्धवृद्धाले सुनाइरहेको जीवनभरको पीडा, गाउँको बदलिँदो तथ्यांक र प्रहरीमा नपुगेका घटनाले लक्ष्य पूरा गर्न कानुनसँगै सामाजिक व्यवहार परिवर्तन र प्रभावकारी कार्यान्वयनको चुनौती अझै बाँकी रहेको देखाउँछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।