अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जय शाहलाई दोस्रो कार्यकालका लागि पनि अध्यक्ष नियुक्त गरेको छ। उनी निर्विरोध रूपमा अध्यक्षमा निर्वाचित भएका हुन्।
आईसीसीका अनुसार इन्डोनेसियाको बालीमा सम्पन्न बोर्ड तथा समितिका बैठकमा आईसीसीका निर्देशकहरूले जय शाहलाई दोस्रो कार्यकालका लागि अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए।
आईसीसी बोर्डले यो निर्णयले शाहको नेतृत्वप्रति आफ्नो विश्वास झल्काएको जनाएको छ। साथै, यसले क्रिकेटको भविष्यका योजना अघि बढाउन निरन्तरता कायम राख्ने विश्वास व्यक्त गरेको छ।

शाहले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा आईसीसी बोर्डप्रति आभार व्यक्त गरेका छन्। उनले भने, ‘आईसीसी बोर्डले ममाथि देखाएको विश्वासबाट म सम्मानित महसुस गरेको छु। निरन्तर विश्वास र समर्थनका लागि सबै निर्देशकप्रति आभारी छु।’
उनले थप भने, ‘आईसीसी अध्यक्षका रूपमा काम गर्न पाउनु मेरा लागि सम्मानको विषय हो। यससँगै ठूलो जिम्मेवारी पनि जोडिएको छ।’
३८ वर्षीय शाह यसअघि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का सचिव थिए। उनले सन् २०२४ डिसेम्बरमा आईसीसी अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।