अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ मा आयोजना हुने एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगिताको खेल संरचनामा महत्वपूर्ण परिवर्तन गरेको छ। आईसीसीले यसअघिका संस्करणमा रहँदै आएको सुपर सिक्स चरण हटाउँदै नयाँ ढाँचा लागू गर्ने निर्णय गरेको हो।
नयाँ व्यवस्थाअनुसार आगामी वर्ष फेब्रुअरी–मार्चमा हुने छनोट प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। समूह चरणका खेलपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनलका विजेताबीच उपाधिका लागि फाइनल खेल हुनेछ।
यसअघि समूह चरणपछि सुपर सिक्स खेलाइने व्यवस्था थियो। उक्त ढाँचामा कुल ३४ खेल हुन्थे भने नयाँ संरचनामा खेल संख्या घटेर २३ मा सीमित हुनेछ। आईसीसीले इन्डोनेसियाको बालीमा बसेको बैठकपछि नयाँ संरचना सार्वजनिक गरेको हो।

छनोट प्रतियोगितामा हालसम्म वेस्ट इन्डिज, आयरल्यान्ड, अमेरिका, नेदरल्यान्ड्स, स्कटल्यान्ड र ओमानले स्थान सुरक्षित गरिसकेका छन्। बाँकी चार टोलीको टुंगो नेपालमा आयोजना हुने छनोट प्लेअफबाट लाग्नेछ।
नयाँ विश्वकप संरचनाअनुसार छनोट प्रतियोगिताको विजेताले १४ टोली सहभागी हुने मुख्य विश्वकपमा सीधा प्रवेश पाउनेछ। दोस्रो, तेस्रो र चौथो हुने टोलीले भने सुपर सिरिजको पहिलो चरण खेल्नुपर्नेछ।
यसैबीच, आईसीसीले सन् २०२८ को पुरुष तथा महिला टी–२० विश्वकप छनोट प्रक्रिया पनि सार्वजनिक गरेको छ। पुरुषतर्फ १६ टोलीबीच प्रतिस्पर्धा हुनेछ र आठ टोली विश्वकपमा पुग्नेछन्।
महिलातर्फ भने १० टोलीले स्वतः स्थान बनाइसकेका छन्। बाँकी दुई स्थानका लागि १० टोलीबीच विश्वव्यापी छनोट प्रतियोगिता हुनेछ।
आईसीसीको नयाँ निर्णयले अन्तर्राष्ट्रिय क्रिकेटको छनोट प्रक्रियालाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।