चितवन। चितवनमा सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा तीन महिनादेखि बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन्। सर्वोच्च अदालतको आदेशका कारण गत साउन १० गतेदेखि यहाँको परीक्षा प्रक्रिया रोकिएको हो।
यातायात व्यवस्था कार्यालय भरतपुरका सूचना अधिकारी गोविन्द पौडेलका अनुसार अदालतले निजी ट्रायल सेन्टरको सेवामा रोक लगाएपछि परीक्षा प्रक्रिया अवरुद्ध भएको छ। परीक्षा बन्द हुँदा पुनःसीप परीक्षा दिने तयारीमा रहेका ८०० जनासहित साप्ताहिक रूपमा परीक्षा दिने करिब दुई हजार सेवाग्राही प्रभावित भएका छन्।
अदालतले उक्त सेन्टरमा गरिएको ठेक्का रद्द गरी पुनःठेक्का प्रक्रिया सुरु गर्न आदेश दिएको थियो। तर, मन्त्रालयबाट कुनै पनि निर्देशन वा परिपत्र नआएका कारण नयाँ बोलपत्र आह्वान गर्न नसकिएको पौडेलले जानकारी दिए। उनले भने, “मन्त्रालयबाट कुनै परिपत्र नआएका कारण सवारी चालक अनुमतिपत्रको काम गर्न सकिएको छैन।”
हाल कार्यालयले सवारी चालक अनुमतिपत्र, सवारी धनी प्रमाणपत्र र रुट परमिट वितरणबाहेकका अन्य काम गर्न पाएको छैन। ट्रायल सेन्टर सञ्चालनमा रहँदा एक पटकमा ४०० जना सेवाग्राहीले लिखित तथा सीप परीक्षा दिने गरेका थिए।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।