कला तथा मनोरञ्जन

चलचित्र ‘ककाकिकी’को प्रचार स्टन्ट विवादमा, कलाकार मनोज गजुरेलले मागे माफी

चलचित्र प्रदर्शनअघि दर्शकमाझ चर्चा बटुल्न विभिन्न प्रचार शैली अपनाउने गरिन्छ। तर, कहिलेकाहीँ प्रचारका लागि अपनाइने यस्ता शैलीले सकारात्मकभन्दा नकारात्मक चर्चा बढी निम्त्याउने गर्छन्। यस्तै भएको छ, चलचित्र ‘ककाकिकी’को हकमा।

मंसिर ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ककाकिकी’ प्रदर्शनअघि नै विवादमा तानिएको छ। शनिबार रञ्जना सिनेमा हलमा आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रको प्रचारका लागि अपनाइएको एउटा शैली अहिले सामाजिक सञ्जालमा आलोचनाको विषय बनेको छ।

कार्यक्रमको अन्त्यतिर प्रहरीको पोसाकमा आएका चार–पाँच जना जवानले चलचित्रका कलाकार तथा निर्माण टोलीका सदस्यलाई जबर्जस्ती नियन्त्रणमा लिएर प्रहरी भ्यानमा राखेको दृश्य सार्वजनिक भयो। भिडियो हेर्ने धेरैले यसलाई वास्तविक पक्राउको घटनाका रूपमा बुझे। सांसद हर्क साम्पाङसमेत सुरुमा उक्त घटनालाई वास्तविक ठानेका थिए।

विज्ञापन

तर, पछि उक्त दृश्य चलचित्रको प्रचारका लागि तयार पारिएको स्टन्ट भएको खुलेको छ।

प्रचारका नाममा सार्वजनिक स्थलमै प्रहरी पक्राउको दृश्य देखाएर भ्रम सिर्जना गरिएको भन्दै चलचित्र निर्माण टोलीको आलोचना भइरहेको छ। कतिपयले यस्तो गतिविधिले प्रहरी संगठनको छविमा असर पार्नुका साथै समाजमा अनावश्यक भ्रम फैलाउने टिप्पणी गरेका छन्।

यही विषयमा उठेका आलोचनापछि चलचित्रका कलाकार मनोज गजुरेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले चलचित्रका लागि खिचिएको दृश्य र प्रचारात्मक प्रस्तुतिका कारण दर्शकमा भ्रम सिर्जना भएको स्वीकार गर्दै दुःख व्यक्त गरेका छन्।

गजुरेलले आफू व्यक्तिगत रूपमा सस्तो प्रचारभन्दा सिर्जनाको गुणस्तर र दर्शकको विश्वासमा बढी भरोसा गर्ने व्यक्ति भएको उल्लेख गरेका छन्। यद्यपि, उक्त प्रस्तुतिमा आफू पनि सहभागी भएको स्वीकार गर्दै उनले दर्शकमा परेको भ्रम र असुविधाप्रति क्षमायाचना गरेका छन्।

उनले समाजको मनोविज्ञान संवेदनशील रहेको अवस्थामा मनोरञ्जनका नाममा अनावश्यक भ्रम सिर्जना गर्नु उचित नभएको पनि बताएका छन्। उनका अनुसार प्रचारमा सिर्जनशीलतासँगै सामाजिक जिम्मेवारीलाई पनि उत्तिकै महत्त्व दिन आवश्यक छ।

आफूहरूको नियत गलत नभए पनि निर्णयमा त्रुटि भएको स्वीकार गर्दै गजुरेलले गल्ती स्वीकार्नु र सुधार गर्नु सर्जकहरूको दायित्व भएको बताएका छन्।

साथै, एउटा चलचित्र धेरै कलाकार तथा प्राविधिकको मेहनतबाट निर्माण हुने भएकाले प्रचारका क्रममा अपनाइएको एउटै शैलीका आधारमा समग्र चलचित्रको मूल्याङ्कन नगर्न पनि उनले दर्शकसँग आग्रह गरेका छन्।

चलचित्र प्रदर्शनअघि दर्शकमाझ चर्चा बटुल्ने उद्देश्यले गरिएको प्रचार नै अहिले आलोचनाको विषय बनेपछि निर्माण टोलीका लागि यो घटना चुनौतीपूर्ण बनेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।