कला तथा मनोरञ्जन

स्वागत

साँझको ६ बजेतिर गायक श्रेष्ठको निमन्त्रणामा पोखरेलले गाडीलाई होटलतिर मोड्न लगाए। भारतीय चिकित्सकहरूको सम्मानमा आयोजित डिनरमा सरिक हुन गाडीबाट ओर्लेर उनी सरासर होटलभित्र छिरे। लबीको एक छेउमा निलो सुटमा सजिएका गायक श्रेष्ठ आमन्त्रित व्यक्तिहरूसँग सम्पर्क गर्न मोबाइलमा व्यस्त थिए।

पोखरेल सरासर उनको नजिक गएर नमस्कार गरे।

श्रेष्ठले अभिवादन फर्काएनन्। बरु, मोबाइलबाट आँखा उठाउँदै पोखरेलको मुहारमा नजर नै नलगाई जङ्गिँदै भने, “तपाईं आफूलाई के ठान्नुभएको छ? के तपाईंको पैसा हामीले नतिरी जान्छौँ भन्ने सोच्नुभएको छ? कलाकार भन्ने जतिले ठग्छन् भन्ने ठान्नुभएको छ?”

विज्ञापन

“म.. म.. त…” पोखरेलले केही भन्न खोज्दै थिए, श्रेष्ठले पोखरेलको कुरा बेवास्ता गर्दै थपे, “मैले मेनेजरसँग कुरा गरिसकेँ, एड्भान्स पनि दिइसकेको छु। अब किचकिच गर्न नआउनु फेरि!”

श्रेष्ठ कुनै पनि कुरा सुन्ने मनस्थितिमा थिएनन्।

पोखरेलतिर हेर्दै भने, “अहिले मलाई डिस्टर्ब नगर्नुहोस्!”

त्यसपछि श्रेष्ठले फेरि मोबाइलमा आँखा गाडे। निमन्त्रणा मान्न आएका पोखरेल श्रेष्ठको अपमानले मर्माहत भई अमिठो अनुहार बनाएर फरक्क फर्के।

पोखरेलले ड्राइभरलाई फोन गर्दै भने, “गाडी निकाल, अब हामी फर्किन्छौँ।”

ड्राइभरलाई बाटाको रेस्टुरेन्टमा खाना खुवाएर घर फर्किँदै गर्दा पोखरेलको मोबाइलको घण्टी बज्यो; गायक श्रेष्ठको फोन!

मन अमिलाउँदै पोखरेलले फोन उठाए।

उताबाट श्रेष्ठले शालीनतापूर्वक भने, “सर, कता आइपुग्नुभयो? सबै गेस्ट र इन्डियन डाक्टरहरू आइसक्नुभयो। हामी तपाईलाई पर्खिरहेका छौँ। तपाई नआइकन त हामी डिनर सुरु नै गर्दैनौँ, छिटो आउनुहोला है!”

पोखरेलले पनि विनम्रतापूर्वक भने, “अघि म आएको थिएँ। तपाईंले पैसाको कुरा लिएर मसँग कडा रूपमा प्रस्तुत हुनुभयो, मैले लज्जित महसुस गरेँ। त्यसपछि म त बस्नै सकिनँ अनि हिँडेँ। अहिले त म घर पुगिसकेँ। डिनरमा निमन्त्रणा गर्नुभएकामा धन्यवाद र सबै मित्रलाई डिनरको शुभकामना!”

“सरी! मैले त तपाईलाई रिसेप्सनको स्टाफ पो ठानेछु।”

यति भनेपछि उताबाट कुनै प्रतिक्रिया नै आएन, श्रेष्ठले तुरुन्तै फोन स्विच अफ गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।