खोटाङमा एसईई र कक्षा १२ को परीक्षामा उत्कृष्ट जीपीए हासिल गर्ने दुई विद्यार्थी सम्मानित भएका छन्। दाहाल प्रतिष्ठान शाखा समिति खोटाङले दाहाल परिवारका उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गरेको हो।
सोमबार दिक्तेलस्थित प्रतिष्ठानको कार्यालयमा आयोजित कार्यक्रममा ऐसेलुखर्क गाउँपालिका–७ माक्पाकी कुस्मा दाहाल र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका वीरेन्द्र दाहाललाई सम्मान गरिएको हो। दुवै विद्यार्थीलाई जनही पाँच हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष लीलाबहादुर दाहालले जानकारी दिए।
कुस्माले शैक्षिक सत्र २०८२ को एसईई परीक्षामा माक्पा माध्यमिक विद्यालयबाट ३.५४ जीपीए हासिल गरेकी थिइन्। त्यस्तै, वीरेन्द्रले सरस्वती माध्यमिक विद्यालयबाट कक्षा १२ को परीक्षामा ३.४४ जीपीए ल्याएका थिए। प्रतिष्ठानका अध्यक्ष दाहालले खोटाङमा बसोबास गर्ने दाहाल परिवारका विद्यार्थीको शैक्षिक प्रगतिमा प्रोत्साहन गर्ने उद्देश्यले नगदसहित सम्मान गर्ने परम्परा सुरु गरिएको बताए।

विद्यार्थी सम्मानसँगै कार्यक्रममा माध्यमिक विद्यालयस्तरीय खुला निबन्ध लेखन प्रतियोगितासमेत आयोजना गरिएको थियो। आधा दर्जन विद्यार्थी सहभागी प्रतियोगितामा अभिषेक आचार्य प्रथम, नम्रता दाहाल दोस्रो र रोजिना कठायत तेस्रो भएका छन्। निर्णायक समितिका संयोजक नइन्द्र दाहालका अनुसार आचार्यले ‘सांस्कृतिक विविधताको संरक्षणमा युवाको भूमिका’ विषयमा निबन्ध लेखेका थिए।
प्रतियोगितामा प्रथम हुने आचार्यलाई तीन हजार रुपैयाँ, दोस्रो हुने नम्रतालाई दुई हजार र तेस्रो हुने रोजिनालाई एक हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ।
प्रतिष्ठानका अध्यक्ष दाहालले युवापुस्तामा नेपाली समाजको सांस्कृतिक विविधताबारे चेतना अभिवृद्धि गर्ने तथा मौलिक संस्कार, परम्परा र पहिचानको संरक्षणमा योगदान पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। यसबाट विद्यार्थीमा साहित्य सिर्जना र लेखन क्षमता विकास हुनुका साथै देशप्रेम तथा समाजप्रतिको उत्तरदायित्वबोध बढ्ने अपेक्षा गरिएको उनले बताए।
तस्बिर क्याप्सनः सम्मानित विद्यार्थी कुस्मा दाहाल र वीरेन्द्र दाहाल। तस्बिरः महेश्वर



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।