जनकपुर बोल्ट्सले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्स १२ औं ओभरमा दुई महत्त्वपूर्ण विकेट गुमाउँदै संकटमा परेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १२ ओभर सकिँदा पोखराले ५ विकेटको क्षतिमा ८३ रन बनाएको छ। प्रतियोगितामा पहिलो जित निकाल्नका लागि पोखरालाई अब अन्तिम ८ ओभरमा ६५ रन आवश्यक छ। हाल पोखराको आवश्यक रनरेट प्रतिओभर ८.१२ रहेको छ।
१२ औं ओभरमा बलिङ गर्न आएका जनकपुरका सैफ हसनले खेललाई जनकपुरतर्फ मोडे। उनले ओभरको दोस्रो बलमा अर्जुन घर्तीलाई कप्तान हरमित सिंहको हातबाट क्याच आउट गराए। अर्जुनले १५ बलमा ७ रन बनाए।

त्यसलगत्तै सोही ओभरको अन्तिम बलमा सैफले अनुभवी अलराउन्डर शाकिब अल हसनलाई मयान यादवको हातबाट क्याच गराउँदै पाँचौँ सफलता दिलाए। शाकिबले १७ बल खेल्दै ९ रन मात्र जोड्न सके।
पाँच विकेट गुमेपछि क्रिजमा आएका किरण ठगुन्नाले भने आक्रामक काउन्टर अट्याक गरेका छन्। उनले आतेजाते ३ बलमै १ चौका र १ छक्का प्रहार गर्दै अविजित ११ रन बनाएका छन्।
जनकपुरका लागि बलिङमा स्पिनरहरू पूर्ण रूपमा हाबी भएका छन्। मोइन अली र सैफ हसनले २-२ विकेट लिएका छन् भने ललित राजवंशीले १ विकेट हात पारेका छन्।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।