कोशी लोकमार्गअन्तर्गत सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोल पम्पनजिक गएराति दुर्घटना भएको हो।
दुर्घटनामा विराटनगर महानगरपालिका-९ का २७ वर्षीय स्पर्स अर्याल र विराटनगर-२ का २८ वर्षीय सास्वत पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।
प्रहरीका अनुसार इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १-०४-००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०२-०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुवै युवकलाई तत्काल उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्याइएको थियो। उनीहरूको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले ठक्कर दिने ट्रक र त्यसका चालक सुनसरीको रामधुनी नगरपालिका-५ का ३९ वर्षीय काशिराम चौधरीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।