विज्ञापन
समाज

अजयबाबुको आशंका- बालेन र कुमार बेनसँग दारु खाएकाहरूले उजुरी हालेका हुनसक्छन्

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले प्रधानमन्त्री बालेन र उनका प्रमुख सल्लाहकार कुमार बेनसँग निकट रहेका व्यक्तिहरूले आफूविरुद्ध साइबर ब्युरोमा उजुरी हालेको आशंका गरेका छन्।

पार्टी सभापतिविरुद्ध फैलाइएको दुष्प्रचारबारे टिप्पणी गरेकै कारण प्रहरीले तारन्तार ताकेता गरेपछि उनी आइतबार दिउँसो भोटाहिटीस्थित ब्युरो पुगेका हुन्।

ब्युरो परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सहमहामन्त्री शिवाकोटीले विपक्षीको मुख थुन्न र रिसइबी साध्न राज्य संयन्त्रको दुरुपयोग भइरहेको आरोप लगाए।

विज्ञापन

आफूविरुद्ध उजुरी दिने व्यक्तिको पहिचानबारे प्रश्न गर्दा शिवाकोटीले भने, ‘सरकारकै मान्छेले हालेका हुन् कि सरकार निकटकाले हालेका हुन् ? सरकारको नेतृत्वमा पुगेकाहरूसँग फोटो खिचाएका, बालेन र कुमार बेनसँगै खाना र दारु खाएकाहरूले पो हालेका हुन् कि ! तर जसले उजुरी हालेको भए पनि म कानुन मान्ने मान्छे भएकाले छलफलका लागि आएको हुँ।’

विगतको घटना स्मरण गराउँदै उनले भने- ‘कुनै समय अहिलेका प्रधानमन्त्री (बालेन) ले सिंहदरबार जलाइदिन्छु भन्दा अभिव्यक्ति स्वतन्त्रता र आवेगको कुरा भनेर छुट दिइयो,’ शिवाकोटीले भने, ‘तर आज उनी नै प्रधानमन्त्री हुँदा उनका सल्लाहकार र निकटस्थहरू प्रतिपक्षीको आवाज रोक्न, कसैलाई सिध्याउन र मुख बन्द गराउन लागिपरेका छन्। यो सरकार ‘नयाँ बोतलमा पुरानै रक्सी’ जस्तो मात्रै भयो।’

सरकार कांग्रेसको बढ्दो जनसमर्थनबाट अत्तालिएको दाबी गर्दै उनले बालुवाटारलाई प्रोपोगान्डाको थलो बनाइएको आरोप लगाए। ‘सरकार डराएर अनेक प्रोपोगान्डा गरिरहेको छ। त्यो मेसिनरीको पावरहाउस बालुवाटार बनेको छ,’ उनले थपे, ‘हाम्रा पार्टी सभापतिमाथि पनि प्रायोजित र भ्रामक सामग्री बनाएर पक्राउको हल्ला फैलाइयो। यस्ता हर्कतले हामीलाई रक्षात्मक बनाउन सकिँदैन, हामी भण्डाफोर गर्छौं।’

आफू कानुन र लोकतान्त्रिक विधि मान्ने भएकाले भागेर नहिँडी सोझै ब्युरोमा उपस्थित भएको बताउँदै शिवाकोटीले लोकतान्त्रिक प्रक्रियाबाट आएको सरकार निरंकुश बन्न खोज्नु दुर्भाग्यपूर्ण भएको बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।