प्रहरीले देशका विभिन्न पाँच जिल्लाबाट ठूलो परिमाणको गाँजा र खैरो हेरोइनसहित १० जनालाई पक्राउ गरेको छ।
सुनसरी, मकवानपुर, झापा, उदयपुर र कञ्चनपुरका विभिन्न स्थानबाट उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सुनसरीको देवानगञ्ज गाउँपालिका-३ बाट प्रहरीले करिब ३१ किलो १०० ग्राम गाँजासहित सोही गाउँपालिका-२ का २२ वर्षीय नित्यानन्द यादवलाई गएराति पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय देवानगञ्जको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

सुनसरीकै इटहरी उपमहानगरपालिका-५ रामजानकी टोलबाट ३ ग्राम ६२० मिलिग्राम खैरो हेरोइनसहित ३९ वर्षीय युवराज भुजेलसहित दुई जनालाई कोशी प्रदेश प्रहरी कार्यालयको टोलीले घर खानतलासीका क्रममा पक्राउ गरेको छ।
यसैगरी, कञ्चनपुरको बेलौरी नगरपालिका-४ प्रेमनगरबाट ४ ग्राम ८५० मिलिग्राम खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बेलौरीले कैलाली गोदावरी नगरपालिका-८ मझगाउँका ३३ वर्षीय अशोक चौधरी र २६ वर्षीय उपेन चौधरीलाई आइतबार दिउँसो नियन्त्रणमा लिएको हो।
उता उदयपुरको बेलका नगरपालिका-१ आम्बासीबाट १ ग्राम ७ मिलिग्राम ब्राउनसुगरसहित २४ वर्षीय प्रबिन विश्वकर्मासहित तीन जनालाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको टोलीले शनिबार साँझ पक्राउ गरेको छ।
यस्तै, झापा गाउँपालिका-७ मदरगाछका ५५ वर्षीय सूर्यलाल यादवको घरबाट करिब १ किलोग्राम गाँजा बरामद गरी इलाका प्रहरी कार्यालय कुमरखोदले उनलाई नियन्त्रणमा लिएको छ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङबाट ३१० मिलिग्राम खैरो हेरोइनसहित २६ वर्षीय सानुभाइ नेपालीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ।
पक्राउ परेका सबैमाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत सम्बन्धित प्रहरी कार्यालयहरूले थप कानुनी अनुसन्धान अघि बढाएका छन्।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।