विज्ञापन
अन्तर्राष्ट्रिय

अस्ट्रेलियामा बढ्दो आप्रवासनले राष्ट्रिय पहिचानमै असर पर्ने नेपाली मूलका शंकरलाई चिन्ता

अस्ट्रेलियामा बढ्दो आप्रवासनले देशको राष्ट्रिय पहिचान कमजोर हुन सक्ने भन्दै नेपाली मूलका अस्ट्रेलियाली शंकरले चिन्ता व्यक्त गरेका छन्।

छोटो समयमा ठुलो संख्यामा मानिस भित्रिँदा देशको साझा संस्कृति, परम्परा र पहिचानमा असर पर्न सक्ने उनको तर्क छ।

शंकरले अस्ट्रेलियाली प्रसारक एबीसीको राष्ट्रिय फोरममा दर्शकका रूपमा सहभागी हुँदै कार्यक्रम सञ्चालक डेभिड स्पीयर्ससँगको छलफलमा यस्तो धारणा राखेका हुन्। नयाँ मानिस अस्ट्रेलिया आउँदा उनीहरूले त्यहाँको समाज, संस्कृति र राष्ट्रिय पहिचान बुझ्ने साझा आधार हुनुपर्ने उनले बताए।

विज्ञापन

‘मानिसहरू आउँदा उनीहरूसँग बुझ्ने एउटा आधार हुनुपर्छ। तर छोटो अवधिमा जनसंख्या तीव्र रूपमा बढ्दा देशको पहिचान कमजोर हुन सक्छ,’ उनले भने।

पश्चिमी सिड्नीको उदाहरण दिँदै शंकरले विभिन्न देश र पृष्ठभूमिबाट आएका मानिसलाई जोड्ने साझा सांस्कृतिक आधार के हो भन्ने प्रश्न उठाए। उनका अनुसार सबै समुदायलाई समेट्ने प्रयास गर्दा देशको साझा पहिचान के हो भन्ने कुरा नै अन्योलमा पर्न सक्छ।

शंकरले अस्ट्रेलियाको पहिचान आदिवासी समुदायको इतिहास, एंग्लो-स्याक्सन सम्पदा र त्यसमा आधारित संस्थाहरूबाट बनेको तर्क गरे। तर उनले पुरानो संस्कृतिलाई जस्ताको तस्तै राख्नुपर्छ भन्ने धारणा भने राखेनन्। बरु, संस्कृतिका राम्रा पक्षलाई अपनाउँदै समयअनुसार अगाडि बढ्नुपर्ने बताए।

‘संस्कृतिलाई संग्रहालयमा राखेजस्तो गरी संरक्षण गरिँदैन। राम्रा पक्षलाई लिएर त्यसैको आधारमा अगाडि बढ्नुपर्छ,’ उनले भने।

कार्यक्रममा शंकरले केही धार्मिक समूहले आफ्ना आवश्यकता र चाहनालाई राजनीतिक तहमा उठाइरहेको विषय पनि उल्लेख गरेका थिए। ठुलो संख्यामा मानिस छोटो समयमा आउँदा समाजका विभिन्न क्षेत्रमा दबाब पर्न सक्ने उनको भनाइ थियो। यद्यपि, उनले यसको जिम्मेवारी आप्रवासीलाई भन्दा सरकारको नीतिलाई दिनुपर्ने बताए।

‘सरकारले नै यसका लागि अनुमति दिएको हो, आप्रवासी आफैंले होइन,’ उनले भने।

अस्ट्रेलियाली तथ्यांक विभागका अनुसार जनवरी २०२६ सम्मको १२ महिनामा स्थायी र दीर्घकालीन रूपमा अस्ट्रेलिया आउने मानिसको संख्या चार लाख ९४ हजार ५४० पुगेको थियो। डेली मेलका अनुसार जनवरी महिनामा मात्रै यो संख्या ५७ हजार २७० पुगेको थियो।

यसैबिच, अस्ट्रेलियाको एन्थोनी अल्बानिज नेतृत्वको सरकारले आर्थिक वर्ष २०२६-२७ का लागि स्थायी आप्रवासन कार्यक्रमअन्तर्गत एक लाख ८५ हजार स्थान कायम गरेको छ। यो संख्या अघिल्लो आर्थिक वर्षकै बराबर हो।

विपक्षी गठबन्धनले खुद वैदेशिक आप्रवासन घटाउने प्रस्ताव अघि सारेको छ। त्यसैगरी, वान नेसन पार्टीले अस्थायी भिसाको संख्या सात लाख ५० हजारले घटाउने योजना सार्वजनिक गरेको छ।

अस्ट्रेलियामा आप्रवासनको विषय अहिले जनसंख्या वृद्धि, राष्ट्रिय पहिचान र सरकारी नीतिसँग जोडिएको बहसको केन्द्रमा रहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।