नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी चौथो खेलमा सुदूरपश्चिमको कसिलो बलिङसामु पोखरा एभेन्जर्सले १५ ओभरको समाप्तिमा ५ विकेट गुमाएर १ सय ३ रन जोडेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको पोखराले पछिल्लो ५ ओभरमा २ विकेट गुमाउँदै ३० रन मात्र थप्न सक्यो।
सुदूरपश्चिमका स्पिनर अनिल खरेलको धारिलो बलिङका कारण पोखराको रनको गति सुस्त बनेको छ। १२.२ ओभरमा ८३ रनको स्कोरमा सदिरा समरविक्रमा ९ बलमा ८ रन बनाएर खरेलको बलमा विकेटकिपर भण्डारीद्वारा स्टम्पिङ आउट भए। हाल क्रिजमा धनञ्जय लक्षण ११ बलमा ७ रन र विकेटकिपर अर्जुन घर्ती १० बलमा १० रन बनाएर अविजित छन्।

यसअघि पोखराका लागि ओपनिङ ब्याटर महेदी हसनले २१ बलमा सर्वाधिक ३२ रनको योगदान दिएका थिए। कप्तान कुशल भुर्तेल २१ रन, शकिब अल हसन १४ रन र दिनेश खरेल ४ रन बनाएर आउट भइसकेका छन्।
सुदूरपश्चिमका लागि अनिल खरेलले ३ ओभरमा २३ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका छन्।
यस्तै, दीपेन्द्रसिंह ऐरीले कसिलो बलिङ गर्दै आफ्नो कोटाको ४ ओभरमा १ वाइडसहित मात्र २१ रन खर्चेर १ विकेट हात पारे भने हेमन्त धामीले ३ ओभरमा १४ रन दिएर १ विकेट लिएका छन्।
यसैगरी, सेफ जेबले २ ओभरमा १३ रन, अविनाश बोहराले १ ओभरमा ६ रन तथा स्कट कुगेलेइनले २ ओभरमा २५ रन खर्चिएका छन्। पोखराले अतिरिक्त स्वरूप हालसम्म ७ रन पाएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।