जेष्ठ १६, धनुषा । धनुषामा एक किशोरीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजानिक भएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाकी एक १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरी स्रोतले जनाएको छ ।
पीडित पक्षले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले चारजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा क्षीरेश्वरनाथ नगरपालिका–६ का २८ वर्षीय गणेश महतो, वडा नं ५ का ४० वर्षीय जयकुमार यादव र भारतको विहार घर भएका क्षीरेश्वरनाथ नगरपालिका–५ बस्ने ३० वर्षीय धर्मेन्द्र पटेल र क्षीरेश्वरनाथ नगरपालिका-६ का ३५ वर्षीय सिकिन्द्र सासुडी रहेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए।
घटनामा संलग्न भनिएका अझै एकजना फरार रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ। गत चैत १ गते उनीहरुले ती किशोरीलाई घरबाट मिथिला नगरपालिका–५ मा ल्याई जबरजस्ती करणी गरेका थिए ।
पीडित पक्षले जबरजस्ती करणीको आरोपमा उनीहरुमाथि इलाका प्रहरी कार्यालय ढल्केवरमा किटानी जाहेरी दिएका थिए । प्रहरीले त्यो मुद्दा जेठ ३ गते दर्ता गरेको थियो । प्रहरी स्रोतका अनुसार धनुषा जिल्ला अदालतले आरोपितविरुद्ध पक्राउ पुर्जी जारी गरेका थियो।
आरोपितमध्ये चारजना आइतबार पक्राउ परेका छन् । प्रहरीका अनुसार घटनामा संलग्न भनिएका अन्य एकजना संलग्न रहेको पीडित पक्षको दावी छ । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई धनुषा जिल्ला अदालतबाट म्याद थपको अनुमति लिइ थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।