माघ २३, दाङ । हतियार देखाइ स्थानीयलाई त्रसित पार्ने सात जनालाई प्रहरीले तुलसीपुरमा पक्राउ गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका–३ भ्युडरमा मादक पदार्थ सेवन गरी आइतबार बिहान ५ बजेतिर स्थानीयलाई धम्क्याइरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी मुकुन्दप्रसाद रिजालले बताए ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–९ का २५ वर्षीय सन्तोष बस्याल, १६ वर्षीय मनोज विक, २३ वर्षीय पोषण ओली, १७ वर्षीय विवेक बस्नेत, २१ वर्षीय अजिल मिया, वडा नं. ६ का २१ वर्षीय केतु ओली र वडा नं. ९ का १८ वर्षीय मोहन बस्नेत रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले पेस्तोल आकारको लाइटर एक, हँसिया तीन, बन्चरो एक र खुडा एक थान बरामद गरेको रिजालले जानकारी दिए । उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको उनले बताए ।