१५ जेठ, काठमाडौं। मुस्ताङको लेतेमा भएको विमान दुर्घटना क्षेत्रमा घाँसाबाट नेपाली सेनाको टोली जाँदैछ। यस्तै काठमाडौँबाट पनि सेनाको हेलिकप्टर मस्ताङतर्फ गएको सैनिक प्रवक्ता सहायक रथी नारायण सिल्वालले बताएका छन्।
पोखराबाट आइतबार बिहान ९ः ५० मा जोमसोमको लागि उडेको तारा एयरको ट्वीनेटर विमान मुस्ताङको लेतेमा दुर्घटना भएको हो। विमानमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए। यात्रुहरूको सूचीमा ४ भारतीय र २ जर्मन नागरिक पनि रहेका छन्।
विमानलाई सिनियर पाइलट क्याप्टेन प्रभाकर प्रसाद घिमिरेले उडाएका थिए। उनीसँगै सह-पाइलट उत्सव पोख्रेल र एयरहोस्टेज क्रिस्मी थापा रहेका छन्। यात्रु तथा चालक दलका सदस्यहरूको स्वास्थ्य स्थितिबारे आधिकारिक जानकारी आएको छैन।
पोखरा विमानस्थल स्रोतका अनुसार करिब २० मिनेटमा जोमसोम अवतरण गर्नुपर्ने जहाज एक सम्पर्कविहीन भएको थियो।