माघ १३, मोरङ । मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरमा उखुबारीभित्र खाल्डोमा पुरेको अवस्थामा २ पुरुषको शव फेला परेको छ । शंकास्पद खाल्डोलाई प्रहरीले खनेर हेर्दा २ पुरुषको शव फेला परेको हो ।
उखु काट्न गएका किसानले बारीमा खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खाल्डो खन्दा गाडेको अवस्थामा पुरुषको शव फेला परेको छ । खाल्डो खनेर कपडासहित गाडेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
शव सडेको अवस्थामा फेला परेको छ । खाल्डो शंकास्पद रहेको जानकारी आएपछि ईलाका प्रहरी कार्यालय रंगेलीको टोलीले बिहीवार खनेको थियो ।
खाल्डोमा अन्दाजी ३०–३५ वर्ष र ४०–४५ वर्षका २ पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । ५ फिट गहिरो खाल्डोमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए ।