माघ १७,काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले १२ जिल्लाका प्रहरी प्रमुखसँग कुराकानी गरेका छन्।
जिल्लाको शान्ति सुरक्षा अवस्था, कोरोना प्रभाव र प्रहरीको राशनभत्ताबारे गृहमन्त्री खाणले आज प्रहरी प्रमुखहरूसँग टेलिफोनमा कुराकानी गरेको उनको सचिवालयले जानकारी दिएको छ।
झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर र रौतहटका प्रहरी प्रमुखसँग गृहमन्त्री खाणले आज कुराकानी गरेका हुन्।
गृहमन्त्री खाणले प्रहरीमा र समग्र जिल्लामा कोभिड–१९ को प्रभाव, शितलहरको अवस्था, जिल्लामा सुरक्षा स्थिति, प्रहरीलाई सरकारले उपलब्ध गराउने रासन भत्ता वितरणबारे जानकारी लिएको प्रहरी प्रमुखहरूले बताएका छन्।
सिरहाका प्रहरी प्रमुख रहेका प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले गृहमन्त्री खाणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीको रासनभत्ता, शितलहरको प्रभाव र न्यानो कपडा वितरणबारे जानकारी लिएको बताए।
तराईका जिल्लाका प्रहरी प्रमुखहरूसँग मन्त्री खाणले सिके राउत नेतृत्वको जनमत पार्टीको आन्दोलनबारे पनि जानकारी लिएका थिए। सप्तरीका प्रहरी प्रमुख अविनारायण काफ्लेले जिल्लामा शान्ति सुरक्षाको स्थिति र जनमत पार्टीको आन्दोलनका अवस्थाबारे गृहमन्त्रीले जानकारी लिएको बताए।