बाघ पक्रन गएको निकुञ्जको प्राविधिक टोली हात्ती छाडेर फर्कियो

 कोरखबर   १५ असार, २०७९



असार १५, पर्सा । मानव बस्तीमा प्रवेश गरेको बाघ फेला पार्न नसकेपछि ठोरी पुगेको चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली फर्किएको छ ।

सरस्वती सामुदायिक वनका सचिव जगेन्द्र पौडेलका अनुसार निकुञ्जबाट शनिबार साँझ ठोरी पुगेको ७ प्राविधिकको टोली सोमबार साँझ फर्किएको हो । टोलीले बाघलाई डार्ट गरेर नियन्त्रणमा लिने योजना बनाएको थियो ।

टोलीले सँगै ल्याएको ३ वटा हात्ती भने ठोरीमै छाडेर गएको छ । ‘बाघ फेरि देखा परेमा २ घण्टाभित्रै आइपुग्ने बताउँदै प्राविधिक टोली हात्तीलाई ठोरीमै छाडेर फर्किएको हो,’ उनले भने, ‘तीनवटै हात्तीलाई निकुञ्जको ठोरीस्थित दिपकनगर रेन्ज पोस्टमा राखिएको छ ।’

शनिबार ठोरी पुगेलगत्तै निकुञ्जको प्राविधिक टोलीले बाघको गतिविधि नियाल्न मानव बस्ती छेउमा रहेको निकुञ्जको वन क्षेत्रमा आधा दर्जन क्यामेरा जडान गरेको थियो ।

आइतबार बिहान ती क्यामेरामा हेर्दा बाघ क्यामेरामा नपरेपछि निकुञ्जको प्राविधिक टोली सेना, प्रहरी र स्थानीयसमेतको टोलीले ३ वटा हात्तीसहित आइतबार र सोमबार दिनभरि बाघको खोजी गरेको थियो । ठोरी गाउपालिका-१ चौतारामा मानव बस्तीमा प्रवेश गरेर आतंक मच्चाएको बाघलाई नियन्त्रण गर्न उक्त टोली ठोरी पुगेको थियो ।

साताअघि मानव बस्ती प्रवेश गरेको उक्त बाघले शुक्रबार रातिसम्म स्थानीयको बाख्रा, बंगुर र पाडा गरी आधा दर्जन चौपाया खोरबाटै लगेको थियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post