माघ १२, काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संवैधानिक व्यवस्था अनुसार नै सबै तहको निर्वाचन सम्पन्न हुने बताएका छन्।
बुधबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्ने क्रममा मन्त्री कार्कीले सरकार संविधानको भावना अनुसार अघि बढ्ने बताए। उनले निर्वाचनको मिति संविधानमा भए बमोजिम हुने दाबी गरे। संविधान र ऐनमा केही फरक देखिएको उनको तर्क थियो।
संविधानमा व्यवस्था भए अनुसार सबै तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकारले त्यससँग बाझिएका कानुनहरु संशोधनका लागि कानुनविद्हरुसँग छलफल गरिसकेको उनको भनाइ थियो।
प्रमुख प्रतिपक्ष दलले संसद अवरुद्ध गरिरहेको भन्दै उनले संसदमा छलफल हुने कुराहरू रोकिएको बताए।
सरकारलाई जवाफदेही बनाउने दायित्व सरकारको मात्रै नभइ प्रमुख प्रतिपक्ष दलको पनि भएको भन्दै उनले एमालेलाई संसद अवरुद्ध नगर्न आग्रह गरे। राष्ट्रिय मुद्दालाई संसद्मा नउठाएर जनतामा भ्रम छर्ने कार्य एमालले गरेको उनको आरोप थियो।