माघ १२, काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।
यो वर्ष २०७८ मा सम्पन्न गरिएको जनगणनाले नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार पुगेको हो। २०६८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो।
विभागका अनुसार अघिल्लोपटकको तुलनामा जनसंख्या वृद्धिदर भने घटेको छ। यसपटक ०.९३ प्रतिशत वृद्धिदर छ। अघिल्लोपटक १ प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर थियो।
जनगणनाबाट सबैभन्दा बढी परिवार मधेश प्रदेशमा पाइएको छ भने सबैभन्दा कम परिवार गण्डकी प्रदेशमा छन्। यस्तै यो १० वर्षमा प्रतिपरिवार जनसंख्यामा पनि गिरावट आएको छ। २०६८ सालमा नेपालमा एउटा परिवारमा ५ जना बस्थे। अहिले प्रतिपरिवार ४।३२ जना बस्न थालेका छन्।
नेपालको कुल जनसंख्याको २१ प्रतिशत जनसंख्या मधेश प्रदेशमा बसोबास गर्ने गरेका छन्। यसपछि बागमती प्रदेशमा सबैभन्दा बढी जनसंख्या रहेको यो वर्षको जनगणनाले देखाएको छ। मधेश प्रदेशमा ६१ लाखभन्दा बढी र बागमतीमा ६० लाख जनसंख्या बसोबास गर्ने गरेको पाइएको छ।
नेपालमा पुरुषको संख्या महिलाको तुलनामा कम रहेको विभागले जनाएको छ।