माघ ६, काठमाडौँ । विभिन्न निकायका विकास निर्माणका काम र ठेक्का अलपत्र पार्ने ७ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखिएको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयको बुधबारको निर्णयअनुसार बालन ब्रदर्स कन्स्ट्रक्सन एन्ड सप्लायर्स, बरदान कन्सल्टेन्ट एन्ड कन्स्ट्रक्सन, डाइग्नोकेम–जयसम्भु जेभी, ग्रीनटेक प्रोजेक्ट प्राली, एसएनसी निर्माण सेवा, शाह निर्माण सेवा र आरोग्य कन्स्ट्रक्सन प्रालि लाई कालोसूचीमा राखिएको हो ।
गजराज बालन योगी सञ्चालक रहेको बालन ब्रदर्स कन्स्ट्रक्सनले सडक पूर्वाधार विकास कार्यालय दाङअन्तर्गतको ठेक्का अलपत्र पारेपछि उसलाई १ वर्षका लागि कालोसूचीमा राखिएको हो ।
त्यस्तै तिलक पाण्डे सञ्चालक रहेको बरदान कन्सल्टेन्ट, निहाल गुरुङ सञ्चालक रहेको ग्रीन टेक प्रोजेक्ट, चेतबहादुर बुढा सञ्चालक रहेको एसएनसी निर्माण र इनामुल्लाह फकिर सञ्चालक रहेको शाह निर्माण सेवालाई समान १ वर्षका लागि कालोसूचीमा राखिएको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार रन्जन रायमाझी सञ्चालक रहेको आरोग्य कन्स्ट्रक्सनलाई ३ वर्ष र विज्ञानकुमार अर्याल सञ्चालक रहेको डाइग्नोकेम–जयसम्भु जेभीलाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ । कालोसूचीमा रहेको अवधिभर यी कम्पनीहरुले कुनैपनि सार्वजनिक निकायको खरिदमा भाग लिन पाउने छैनन् ।