पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीले जलाए प्रधानमन्त्रीको पुत्ला

 कोरखबर   ६ माघ, २०७८



६ माघ, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् । काठमाडौंको अस्कल क्याम्पस परिसरमा प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।

विद्यार्थीहरुलाई रोक्ने क्रममा प्रहरीले लाठीचार्ज गरेको थियो । विद्यार्थीहरुले भने प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । अहिले भने स्थिति सामान्य छ । पुत्ला जलाउनु अघि विद्यार्थीहरुले ‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटिर ३/३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो । नयाँ मूल्यअनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने छ ।

यसैगरी एक लिटर डिजल र मट्टीतेलको मूल्य समान १२२ रुपैयाँ पुगेको छ । आन्तरिक हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रतिलिटर १०६ रुपैयाँ कायम गरिएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post