माघ ६, सर्लाही । सर्लाहीको गोडैतामा तापेको आगोले जलेर एक वृद्धाको मृत्यु भएको छ ।
सर्लाहीको गोडैता नगरपालिका–११, निवासी देवकली देवीको आगोमा जलेर मृत्यु भएको हो । बुधबार साँझ आगो तापिरहेको अवस्थामा ७५ वर्षीया देवकलीको शरीरमा आगो सल्किएको थियो । आफ्नै घरमा तापेको आगो एक्कासी सल्किएको थियो । आगोले शरीरको अधिकांश भाग जलेर उनी गम्भीर घाइते भएकी थिईन् । तत्काल उपचारका लागि जिल्ला अस्पताल मलंगवा पुर्याईएकी उनको उपचारको क्रममा गय राति साँढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
पछिल्लो केही दिन यता जिल्लासहित तराईमा बढिरहेको चिसोका कारण जनजीवन प्रभावित बन्दै गएको छ । बिशेष गरी जाडो छल्न विपन्न परिवार आगो बालेर तापिरहेका छन् । न्यानो कपडाको अभावमा कयौ परिवार रातिसमेत अगेना नजिकै आगोबालेर सुत्ने गर्छन् । त्यसरी आगो ताप्दा शरीरमा आगो सल्किएर यस्ता दुःखद घटना हुने गरेको छ । केही साताअघि मात्रै सदरमुकाम मलंगवा नगरपालिकाको खुटौनामा पनि आगोले जलेर एक जनाको ज्यान गएको थियो ।