सर्वोच्चमा आजबाट जरुरी मुद्दाको मात्रै सुनुवाइ

    ५ माघ, २०७८



माघ ५, काठमाडौं । कोरोनाभाइरसको सङ्क्रमण बढ्दै गएका कारण आजदेखि सर्वोच्च अदालतमा अतिआवश्यक मुद्दाको मात्रै सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) ले गरेको निर्णय अनुसार आजबाट सेवा कटौती गरिएको हो। १८ माघसम्म सर्वोच्चका सेवा कटौती गरिएको हो।

बन्दी प्रत्यक्षीकरण तथा कोभिड-१९ महामारीसँग सम्बन्धित, अत्यन्त जरूरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्त्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र नियमित रूपमा सुनुवाइ गर्ने निर्णय भएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए।

यो अवधिमा मुद्दा फिर्ता, तामेली एवं मिलापत्र सम्बन्धी कामकारबाही नियमित रूपमा सञ्चालन हुने, मुलुकी फौजदारी कार्यविधि अनुसार थुनुवा रहेका व्यक्तिको निवेदन तथा प्रतिवेदन उपर सुनुवाइ हुनेछ।

त्यस्तै थुनुवा भएका मुद्दाको सुनुवाइ गर्ने, हेर्दाहेर्दै र निर्णय सुनाउनेमा रहेको मुद्दाको सुनुवाइ गर्ने र सरकारको तर्फबाट दर्ता भएका प्रत्यर्थी झिकाउने आदेश नभएका पुनरावेदनको सुनुवाइ गरिने भएको छ।

उच्च र जिल्ला अदालत, अरु न्यायाधीकरणको हकमा स्थानीय परिस्थिति एवं जोखिमको अवस्था तथा सङ्क्रमित भएको अवस्थासमेतको मूल्याङ्कनका आधारमा काम कारबाही गर्ने व्यवस्था मिलाउने बैठकले निर्णय गरेको प्रवक्ता दाहालले जनाएका छन्।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post