क्रिकेट रंगशाला प्रकरण : धुर्मुस–सुन्तलीविरुद्ध अख्तियारमा उजुरी

 कोरखबर   ३ माघ, २०७८



माघ ३, काठमाडौं । रंगशाला निर्माणका नाममा चन्दा संकलन गरी रकम दुरुपयोग गरेको आरोपमा धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालिएको छ। भरतपुरका क्रिकेट प्रशिक्षक अनिल अधिकारीले उनीहरूविरुद्ध आइतबार उजुरी दिएका हुन्।

अख्तियारमा दर्ता सी–०२३५०३ नम्बरको उजुरीमा धुर्मुस–सुन्तलीले नेपाल र विदेशमा रहेका नेपाली तथा भरतपुर महानगरपालिकाबाट गरेर ५७ करोड रुपैयाँ चन्दा उठाएको तर काम भने नगरेको आरोप लगाइएको छ। जम्मा १४ प्रतिशत काम गरेर उल्टै १७ करोड रुपैयाँ ऋण छ भनेर दाबी गरिनु हास्यास्पद भएको दाबी उजुरीकर्ता अधिकारीले गरेका छन्।

दुई अर्ब रुपैयाँको लागत अनुमान गरिएको रंगशाला निर्माण परियोजनाका लागि उठाइएको रकमबराबर पनि नगरिएको भन्दै धुर्मुस–सुन्तलीलाई छानबिनको दायरामा ल्याउन माग गरिएको छ।

चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परियोजनाबाट आर्थिक अभाव भएको भन्दै धुर्मुस–सुन्तलीले हात झिकिसकेका छन् भने यसका बाँकी काम भरतपुर महानगरपालिकाले जिम्मा लिइसकेको छ। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post