फेसबुकमा नजर : किन बढ्दैछ मेयर र वडाध्यक्षको दुरी ?

 कोरखबर   ३० पौष, २०७८



पौष ३०, रामेछाप । सामाजिक संजाल फेसबुकमा मन्थली नगरपालिका–५, सुनारपानीका वडाध्यक्ष रामबहादुर कार्कीलाई पछ्याउनुहुन्छ भने तपाईले बेलाबेला देखिरहनुभएको होला मेयरविरुद्धको सोसल वार । कार्कीको फेसबुक प्रोफाईल स्क्रोल गर्नुभयो भने तपाईले नगरपालिकाका मेयर रमेशकुमार बस्नेतमाथी विभिन्न आरोप लगाएर राखिएका थुप्रै सामग्रीहरु देख्न सक्नुहुन्छ।

आफ्ना योजनाहरु नगरपालिकाबाट स्विकृत भएनन् या मेयरले कुनै सार्वजनिक कार्यक्रममा वडाका सवालमा केहि धारणा प्रकट गरेको थाहा पाए भने वडाध्यक्ष कार्की त्यसको खण्ड्न गर्दै विभिन्न प्रश्न उठाएर मेयरमाथी सोसल अट्याक गर्ने गर्छन् । सार्वजनिक कार्यक्रममै प्रष्ट विचार राख्ने हक्की स्वाभावका मेयर बस्नेत भने सामाजिक संजालमा कसैका विरुद्ध खासै टिप्पणी गर्दैनन् ।

विहिबार मन्थली नगरपालिकाको ५ नम्बर वडा सुनारपानीमा नेकपा एकिकृत समाजवादीले वडा कमिटी गठनको कार्यक्रम राखेको थियो । अतिथीका रुपमा त्यहाँ पुगेका थिए समाजवादी पार्टीका जिल्ला अध्यक्ष समेत रहेका नगरका मेयर रमेश कुमार बस्नेत । उक्त कार्यक्रमलाई  सम्बोधन गर्दै मेयर बस्नेतले वडाको  विकासमा वडाध्यक्ष कार्की नै  बाधक रहेको धारणा राखे । सुनारपानीका विभिन्न टोलमा खानेपानी, सडक लगाएतका पुर्वाधार विकाशका लागी नगरपालिकाबाट बजेट विनियोजन गरिदिएपनि वडाध्यक्ष कार्कीले उपभोक्ता समितिलाई सिफारिस नै नदिएको मेयर बस्नेतले बताएका थिए । 

मेयर विरुद्ध वडाध्यक्ष कार्कीका  ५ आरोप 
मेयर बस्नेतको त्यो भनाईको खण्डन गर्दै वडाध्यक्ष कार्कीले लगत्तै समाजिक संजाल फेसबुकमा मेयर बस्नेत विरुद्ध विभिन्न आरोप लगाएका छन् । 

आरोप १ः वडाध्यक्ष कार्कीले लेखेका छन् मेयर बस्नेतले वडामा गएर भन्नुभएछ , मैले सिफारिस दिएन भनेर । सुनारपानी पानीको समस्याले काकाकुल छ, पानीको बजेट माग्यो भने दिनुहुन्न । योजना छनौट प्रक्रिया के छ ? वडाले माग गरेका योजनाहरु कार्यपालिकाले पास नै गर्दैन, बजेट नै दिईदैन् । 

आरोप २ : आँफु माओवादीबाट निर्वाचित भएकै कारण २०७४ सालमा गरेको योजनाको रु २१ लाख बजेट कार्यपालिकाबाट निकासा गर्ने निर्णय भएपनि अहिलेसम्म दिईएन । वडामा रहेको खानेपानीको समस्या समाधानका लागी ६० लाख बराबरको योजना स्टेमेट गर्न आग्रह गरेपनि प्राविधिकले नगरेको , २०७४ साल देखी ७७ सालसम्म विभिन्न शिर्षकको थुप्रै रकम नदिएको । 

आरोप ३ : यो वर्ष वडाले मागेको नगरस्तरको कुनैपनि बजेट राखिदिएनन् । मेयरले आफ्नो व्यक्तिगत स्वार्थमा गैरकानुनी योजना दिए,यो सरासर गलत हो । 
आरोप ४ : पाप गर्ने मेयर , पाप बोक्ने वडाध्यक्ष हुँदैन् । कानुनी प्रक्रिया पु¥याएर आएका समितिहरुलाई वडाबाट सिफारिस दिईन्छ , नदिएको प्रमाणित गरे कानुनी कार्वाही भोग्न तयार छु ।

आरोप ५ः मेयर रमेशकुमार बस्नेतले आफ्नो वडामा वडाले मागेको बजेट दिएनन् । पार्टीलाई बलियो बनाउने र कमिशन खानेगरी गरी चोर ढोकाबाट बजेट दिए । 

उसो त मेयरलाई विभिन्न आरोप लगाउने वडाध्यक्ष कार्की आफ्नै वडामा आलोचित छन् । विभिन्न कालखण्ड देखी अहिलेसम्म पनि सुनारपानीको नेतृत्वमा रहेका कार्कीले गाउँको विकासका लागी दरिलो पहलकदमी लिएर काम नगरेको आरोप उनिमाथी लाग्ने गरेको छ । पटक–पटक गाउँ विकाश समितिको अध्यक्ष बनेका कार्कीले विकासको प्रारम्भिक ढोका खोलेपनि त्यसको दिर्घकालिन विकाशमा ध्यान नदिएको आरोप लाग्ने गरेको छ । स्थानिय तहको निर्वाचनपश्चात पनि कार्कीनै सुनारपानिको नेतृत्वमा छन् । विकासको मुल एजेन्डा बोकेका कार्कीले खानेपानीको डिप बोरिङका लागी भन्दै ठाउँठाउँमा जमिन खाल्डो बनाउदै पाईप तानेर योजनाहरु लथालिंग छाडेका छन् । नगरपालिकाले रकम नै नदिएको आरोप लगाउँदै कामलाई अव्यवस्थित छाडेका कार्की गाउँवासीलाई काकाकुल हुन नदिने प्रतिवद्धता भने बारम्बार गरि नै रहन्छन् ।

वडाध्यक्ष कार्की सामाजिक संजालमा सक्रिय छन् । वडामा भएका गतिविधिका बारेमा अपडेट गरिरहन्छन् । वडाका विषयमा कुनै सवाल उठ्यो भने त्यसको प्रतिक्रिया, खण्डन र प्रष्टिकरण पनि सामाजिक संजालमार्फत नै दिने गर्छन् ।

मेयर र वडाध्यक्षबिचको टसल पुरानै
उसो त वडाध्यक्ष कार्की समाजिक संजालमा मेयरविरुद्धको भडास पोखिरहन्छन् । भन्ने गरिन्छ, कार्यपालिका बैठकमा समेत उनिहरुविच टसल हुने गर्छ । २०७६ को असारमा त कार्यपालिका बैठकमा विभिन्न विषयमा छलफल चल्दै गर्दा विवाद भएपछि मेयर बस्नेत र वडाध्यक्षहरुबिच हानाहान नै भएको खबर विभिन्न संचारमाध्यममा प्रकाशित थियो । प्रकाशित समाचार अनुसार वडाध्यक्षहरुले मेयर बस्नेतमाथि कुर्सि लगाएतका सामग्रीले प्रहार गरेको र उक्त प्रहारबाट मेयरको टाउकोमा चोट लागेको जनाईएको थियो । नगरपालिकाले यो घट्नाको पुष्टि हुने गरी प्रेस विज्ञप्ती नै जारी गरेको थियो । यद्यपी यसको आरोप भने कार्कीमाथी नै लागेको थियो ।


उसो  त मेयर बस्नेत र वडाध्यक्ष  कार्की कुनै समयमा राजनीतिक सहयात्री थिए । ०४६ को परिवर्तनपछि जनमोर्चाको राजनीतिमा रहेका बस्नेत र कार्की ०५२ पछि नेकपा मालेमा राजनीतिक सहयात्रीका रुपमा रहेका थिए । भन्ने गरिन्छ, २०६० मा तत्कालिन जिल्ला विकास समितिको सभापति बन्नमा बस्नेतलाई कार्कीको ठुलै सहयोग थियो ।  

त्यतिवेलाका राजनीतिक सहयात्री अहिले छुटटै दलमा रहेर राजनीतिक यात्रा गरिरहेका  छन् । गएको स्थानिय तहको निर्वाचनमा बस्नेतले नेकपा एमालेबाट मन्थली नगरपालिकाको मेयरमा टिकट पाए भने कार्की माओबादी केन्द्रबाट वडा वडाध्यक्षमा निर्वाचित भए । यो निर्वाचनले कुनैबेलाका राजनीतिक सहयात्रीलाई एउटै बैठकमा बसेर नगरको विकासको खाका कोर्ने सुनौलो अवसर प्रदान गरेको थियो, व्यवहारतः त्यसो हुन सकेन् ।

वडाध्यक्ष कार्कीको फेसबुक प्रोफाईल स्क्रोल गर्दा देखिने विभिन्न टिप्पणीहरुले नै उनिहरुविचको सहकार्य र समन्वय कस्तो छ भन्ने प्रष्ट हुन्छ । मेयर र वडाध्यक्षले आपसी वैमनस्यता त्यागेर समग्र नगरको विकासमा लाग्नु जरुरी देखिन्छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post