किन निलम्बनमा परे एसपी पाण्डे ?

 कोरखबर   २१ पौष, २०७८



पुस २१,काठमाडौं । सिरहाबाट ९ महिनामा हटाइएका प्रहरी उपरिक्षक (एसपी)  हिराबहादुर पाण्डेलाई निलम्बन गरिएको छ । गृह मन्त्रालयको निर्देशनमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार राती उनलाई निलम्बन गरेका हुन् । पुस १८ मा १ बजे राति पाण्डेले नेपाली काँग्रेस सिरहाका सभापति रामचन्द्र यादवको घरमा गएर ‘गोली हान्छु’ भनेर धम्क्याएको आरोप छ ।

सभापति यादवले मध्यराति आफ्नो घरमा आएर पाण्डेले पेस्तोल निकालेर घरभित्र पस्न खोजेको तर, ढोका नखोलेर प्रमुख जिल्ला अधिकारीलाई खबर गरेको बताएका छन् ।   सो घटना छानविन गर्नुपर्ने देखिएको हुनाले उनलाई निलम्बन गरिएको नेपाल प्रहरीका प्रवक्ता (एसएसपी) बसन्त कुँवरले बताए ।

काँग्रेस सभापतिको घरमा गएर धम्क्याएको सूचना पाएपछि सशस्त्र प्रहरीका एसपी दिपेन्द्र गिरी उनलाई लिन गएका थिए । एसपी गिरी र नेपाल प्रहरीका डिएसपी सुवास बुढाथोकीले पाण्डेलाई जिल्ला प्रहरी कार्यालयको क्वार्टरमा ल्याएका हुन् ।

प्रहरी प्रधान कार्यालयले सोही दिन उनको सरुवा गरेको थियो । पाण्डेलाई काठमाडौं उपत्यका प्रहरी शिक्षालयमा सरुवा गरिएको थियो । सिरहामा एसपी अर्जुनप्रसाद तिमिल्सिनालाई काजमा खटाएको पत्र पुगेपछि पाण्डे मदिरा सेवन गरेर काँग्रेस सभापतिको घरमा पुगेको बताइएको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post