पुस १९, काठमाडौं । पेट्रोलियम पदार्थको कारोबारबाट चर्को घाटा बेहोर्दै आएको नेपाल आयल निगम वित्तीय रूपमा अप्ठ्यारो अवस्थामा पुगेको छ ।
कुनै समय मासिक पाँच अर्ब नोक्सानी बेहोर्दै आएको निगमले पछिल्लो समय विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यमा सामान्य गिरावट हुँदा केही राहत महसुस गरे पनि सञ्चित नोक्सानी पूर्ति नहुँदा वित्तीय सङ्कटको अवस्थामा पुगेको हो । यद्यपि अहिले पनि निगम मासिक तीन अर्ब ७० करोड बढी घाटामा छ ।
डिसेम्बर १६ मा प्राप्त मूल्य सूचीअनुसार निगमलाई अहिले पनि पेट्रोलमा ५ रुपैयाँ ४४ पैसा, डिजेलमा २ रुपैयाँ ९२ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ७५८ रुपैयाँ २५ पैसा घाटा छ । सञ्चित घाटा न्यूनीकरण हुन नसक्दा आपूर्ति व्यवस्थामा नै असहज अवस्था पैदा हुने चिन्ता निगमका अधिकारीको छ ।
पेट्रोलियम खरिदबापत भारतीय आयल निगम (आइओसी) लाई भुक्तानी गर्नुपर्ने रकममा कुनै कमी आउन नदिन विभिन्न विकल्पको खोजी गरिरहेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल बताउँछन् । अहिलेसम्म निगमका विभिन्न शीर्षकमा बचत रहेको रकम आइओसीलाई भुक्तानी भइरहेको छ ।
घाटा धान्नै नसक्ने अवस्था आएपछि निगमले कर्मचारी आवास व्यवस्था अन्तर्गको तीन अर्ब २६ करोड, बिक्रेता तथा हवाईजहाज कम्पनीको धरौटीबापतको एक अर्ब ४५ करोड, कर्मचारी बोनस व्यवस्था अन्तर्गतको तीन अर्ब ४७ करोड र ह्रासकोषबाट एक अर्ब ४२ करोड खर्च गरिसकेको छ । निगमले आइओसीलाई चार अर्ब ९६ करोड भुक्तानी गर्न बाँकी छ ।