पर्यटन बोर्डमा ‘साँढे’ को प्रवेशले डुबायो : मन्त्री आले

 कोरखबर   १६ पौष, २०७८



१६ पुस, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीलाई इंकित गर्दै ‘साँढे’ का कारण बोर्ड धराशायी भएको बताएका छन् । पर्यटनको बोर्डको २३ औँ वाषिकोत्सव कार्यक्रममा बोल्दै आलेले आफ्नो फाइदा मात्र हेर्ने गरेकाले पर्यटन बोर्डले गर्नुपर्ने काम गर्न नसकेको आरोप लगाए ।

मन्त्री आलेले कोभिडका कारण पर्यटन क्षेत्र थला परेको र यसको उत्थानको लागि नेपाल ‘सेफ जोन’मा रहेको सबैलाई नेपाल भ्रमणको आग्रह गर्नको लागि लागि वर्ल्ड ट्राभल मार्ट, लण्डनको कार्यक्रममा रेग्मीकै आग्रहमा गएको स्वीकार गरे ।

आफूलाई जबर्जस्ती लण्डन लगेको प्रसंग कोट्याउँदै उनले त्यहाँ आफू अपमानित भएको सुनाए । ‘म लन्डन जाँदै जान्नँ भन्दा जबर्जस्ती लगेर गयो, बोल्ने कार्यक्रम छैन भन्यो साँढेले,’ मन्त्री आलेले भने, ‘लन्डन गएँ दूतावासमा राखिदियो, न गाडी छ, खाना आफैं खोजेर खानुपर्ने ।’ ‘म यो देशको मन्त्री, जनताले छानेर आएको मन्त्री, लन्डनमा बोल्न पाइनँ, मलाई दुःख लाग्यो । यस्तो साँढेलाई सिइओ बनाए भने बोर्ड चल्छ ?,’ उनले भने ।

मार्टको फोरममा आफ्नो कुरा राख्न पाएको भए नेपालको पर्यटनमा केही टेवा पुग्ने उनको भनाइ थियो ।

मन्त्री आलेले लण्डनबाट नेपाल आउँदा रु १२ लाख ३५ हजार को टिकट काटेका थिए । यो सामान्य भाडाभन्दा १० गुणा बढी भएको भन्दै विरोध भइरहेको छ । ‘लण्डन जाँदा आउँदा टिकट कति लाग्छ त्यो हेर्ने मन्त्रीको काम होइन, त्यो त कर्मचारी व्यवस्थापनले गर्ने कुरा हो,’ मन्त्री आलेले आफ्नो बचाउ गरे ।

‘यस्तो साँढेलाई पर्यटन बोर्डको सिइओ बनाउँदा संस्था चल्छ ?’, आलेले थपे, ‘ बोर्ड सदस्यको पनि कुरा नखाने र जहिले पनि रक्सीमा नै मख्ख पर्ने प्रवृतिको मान्छेले पर्यटन बोर्ड डुवाए । जहाँ कार्यक्रममा जाँदा पनि रक्सी खानलाई नै अघि सर्ने व्यक्तिलाई सीईओ बनाइनु विडम्बना भएको उनले बताए ।

‘मेरो इमान कसैले किन्न सकिँदैन, चार वटाको टोयोटा गाडी बेचेर प्रेम आलेलाई खरिद गर्छु भन्ने नसोचे हुन्छ,’ उनले भने, ‘इमान बेचेर म यो चेयरमा बस्ने वाला छैन ।’

अहिले समयमा कसैलाई पनि माफि गर्ने समय नभएकोले सबैले नियम, ऐनमा बसेर इमान्दार, उत्तरदायी भएर काम गर्न पनि आलेले निर्देशन दिए ।

नेपाल वायुसेवा निगमका कर्मचारीकै कारण निगम धराशायी भएको उनले आरोप पनि लगाए । ‘निगमका कर्मचारी जहाजको कहाँ टायर बेच्न, कहाँ नटबोल्ट बेच्न पाइन्छ भनेर हिँडिरहेका छन्,’ उनले भने । उनले निगममा धेरै विकृति भएकाले सुधार गर्न समय लाग्ने पनि बताए । साथै उनले निगमका कर्मचारी नै सेटिङ गरेर भष्ट्राचार गरिरहेको पनि दाबी गरे ।

उनले एयरपोर्टको सरसफाइका लागि आह्वान गर्दा एउटा कम्पनीले टेण्डरमा ३ करोड ७२ लाख को टेण्डर हालेको, अर्कोले ३ करोड २३ लाखमा टेण्डर हालेको तर यहाँ सेटिङ गरी ३ करोड ७२ लाख लाई दिने प्रपञ्च भइरहेको समेत दाबी गरे ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post