सिरहामा निषेधाज्ञा जारी, हिँडडुल गरेको भेटिए कारबाही गरिने

 कोरखबर   १३ पौष, २०७८



पुष १३, काठमाडौं । सिरहा प्रशासनले पूर्वपश्चिम राजमार्ग र सिरहा चोहर्वा सडकखण्डमा दुई दिनका लागि निषेधाज्ञा जारी गरेको छ। सीके राउत नेतृत्वको जनमत पार्टीको चक्काजाम असफल पार्न प्रशासनले निषेधाज्ञा जारी गरेको हो। 

प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले आज र भोलि विहान ५ बजेदेखि बेलुका ७ बजेसम्म निषेधाज्ञा जारी गरेको जानकारी दिए।  पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग र चोहर्वादेखि सिरहा सडक खण्डको पेट्रोल पम्पसम्म ५ सय मिटर आसपासका क्षेत्रसम्म निषेधाज्ञाको क्षेत्र तोकिएको छ। 

सो अवधिभर राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात सुचारु रहनेछ भने बाहिर हिँडडुल गर्न, भेला हुन तथा राजनीतिक सभा र गतिविधि गर्न नपाउने सूचनामा उल्लेख छ। सूचनाको उल्लंघन गरेमा कारबाही गर्ने चेतावनी समेत दिइएको छ। 

सिके राउत नेतृत्वको जनमत पार्टीले माग पुरा गर्न प्रशासनले चासो नदेखाएको भन्दै आज र भोलि जिल्लाभर चक्काजाम गर्ने निर्णय गरेको थियो। जनमत पार्टीको निर्णय लगातै सिरहाका प्रमुख जिल्ला अधिकारी कवारीले सूचना जारी गरेर निषेधाज्ञाबारे जानकारी दिनुभएको हो। 

जनमतले पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग गर्दै जनमत पार्टीले आन्दोलन गर्दै आएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post