प्रधानन्यायाधीश राणाविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा उजुरी

 कोरखबर   ११ पौष, २०७८



पुस ११, काठमाडौं  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धानको माग गर्दै उजुरी दर्ता भएको छ। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीसहितका अभियन्ताहरुले राणाविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिएका हुन्।

विभागमा आइतबार दर्ता गराइएको उजुरीमा राणाको सम्पत्ति खोजबिन गरी त्यसमाथि अनुसन्धान गर्न माग गरिएको छ। प्रधानन्यायाधीश राणाले परिवारका अन्य सदस्यका नाममा लगानी गरेको र अवैध सम्पत्ति लुकाएको आरोप उजुरीमा लगाइएको छ।

विशेष अदालतको न्यायाधीश हुँदा राणाले अवैध आर्जन गरेको, करोडौं रुपैयाँ श्रीमती रेजी राणा (क्षेत्री) मार्फत् २०६५ सालमा काठमाडौं महानगरपालिका–३० ठमेलस्थित कित्ता नम्बर १०९ र कित्ता नम्बर ११० को बहुमूल्य जग्गा (हाल करिब ४० करोड भनिएको) मा लगानी गरेको पनि उजुरीमा दाबी गरिएको छ।

सर्वोच्च अदालतकै न्यायाधीशहरुले समेत प्रधानन्यायाधीश राणाविरुद्ध मुद्दाको पेसी तोक्दा नियत राखेको लगायत आरोप लगाएका छन्। राणाको राजीनामाको माग गर्दै कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसन १ महिनाभन्दा बढी समयदेखि आन्दोलनमा छ।

हाल सर्वोच्च अदालतमा 'अधिकारविहीन' प्रधानन्यायाधीशको रुपमा रहेका राणाविरुद्ध सामाजिक अभियन्ताहरुले सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुनुपर्ने मागसहित आइतबार उजुरी दिएका छन्।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post