अमेरिकामा ओमिक्रोन संक्रमणबाट एक जनाको मृत्यु

 कोरखबर   ६ पौष, २०७८



पुस ६,काठमाडौं । अमेरिकामा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनबाट पहिलो पटक एक संक्रमितको मृत्यु भएको छ। टेक्सासमा ओमिक्रोनका एक संक्रमितको मृत्यु भएको उक्त राज्यको स्थानीय स्वास्थ्य विभाग ‘काउन्टी हेल्थ डिपार्टमेन्ट’ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। एबीसी न्यूजले समेत अमेरिकामा पहिलो पटक ओमिक्रोन संक्रमितको मृत्यु भएको जनाएको छ।

समाचारअनुसार ५०-६० वर्षका पुरुषको मृत्यु भएको हो। ती व्यक्तिले कुनै खोप नलगाएका कारण गम्भीर अवस्थामा पुगेको र मृत्यु भएको पनि समाचारमा उल्लेख छ । तर ओमिक्रोनका एक संक्रमितको मृत्यु भएको घटनाबारे अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले हालसम्म कुनै टिप्पणी गरेको छैन।

यसैबीच, अमेरिकाका अधिकारीहरूले हाल तीव्र गतिमा फैलिइरहेको ओमिक्रोन प्रमुख भेरियन्टको रुपमा देखा पर्न थालेको बताएका छन्। गत हप्ता पुष्टि भएका नयाँ संक्रमितमध्ये ७३.२ प्रतिशत ओमिक्रोनका संक्रमित रहेको अधिकारीहरूको भनाइ छ।

अमेरिकी अधिकारीले ओमिक्रोन प्रमुख भेरियन्टको रुपमा देखा परेको भनेलगत्तै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अडानोम गेब्रेयससले डेल्टाभन्दा तीव्र गतिमा नयाँ भेरियन्ट फैलिइरहेको बताए।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post