मंसिर २९,काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङसहित पक्राउ परेका १२ जना प्रतिवादीहरूको थुनछेक बहस शुरू भएको छ । ५ अर्ब ५७ करोड ठगी गरेको आरोपमा पक्राउ परेका उनीहरूको बुधवार काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस शुरू भएको हो । थुनछेक बहस सकिएपछि उनीहरूलाई धरौटी तथा साधारण तारेख वा पुर्पक्षमा पठाउने आदेश अदालतले दिनेछ ।
सिभिल सहकारीमा निक्षेपकर्ताले तिरेको पैसा फिर्ता नगरेपछि इच्छाराजसहित ४२ जना विरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी परेको थियो । सीआईबीले उनीहरूलाई पक्राउ गरेर ६० दिन अनुसन्धान गरेपछि सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । उनका अनुसार अहिलेसम्म एक हजार ४७१ जनाले उनीविरुद्ध ठगी गरेको आरोपमा सीआईबीमा जाहेरी दिएका छन् । उनीहरूले दिएको जाहेरीका आधारमा अहिलेसम्म पाँच अर्ब ५७ करोड ८४ लाख रूपैयाँ बिगो मागदाबी गरिएको छ ।
प्रहरीले इच्छाराज तामाङ, सञ्चालक समितिका अध्यक्ष केशवलाल श्रेष्ठ, सहजकर्ता प्रवन्धक भगवानबहादुर सिंह, जुनियर असिसटेन्ट मेनेजरद्वय मायोनी महर्जन र एलिना तुलाधर, जुनियर अधिकृत शंकरप्रसाद पाठक, असिसटेन्ट संगित श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, जुनियर सहयाक प्रवन्धकद्वय बुद्धराज तामाङ र कौसतुभ केतन ढुंगाना, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाह र पूर्व लेखा समिति सदस्य हरिहर लामिछानेलाई असोज १९ गते पक्राउ गरेको थियो ।
उनीहरूलाई नियमानुसार पाउनुपर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध नगराई सहकारी ऐन–२०७४ र सहकारी नियमावली–२०७५ विपरीत काम गरेको भन्दै पक्राउ गरेको थियो ।
शुरूमा प्रहरीमा १३७ जना पीडितको ७० करोड ८७ लाख रूपैयाँ ठगी गरेको भन्दै उजुरी दिएका थिए । पछि सीआईबीले पक्राउ गरेपछि फेरि पीडितहरू थपिएर १४ सय ७१ जना पुगेका थिए । सीआईबीमा थप ३३ जना विरुद्ध पीडितहरूले जाहेरी दिएका छन् । सञ्चालक समितिका सदस्यहरू जयन्द्रलाल श्रेष्ठ, दुर्गाप्रसाद संग्रौला, इन्द्रराज हुमागाई, प्रवीण प्रधान, खेमनाथ डल्लाकोटी, केशवकुमार अमात्य, रामकृष्ण पौडेल पक्राउ पर्न बाँकी छन् ।
त्यस्तै सुमननन्द वैद्य, गोपालबहादुर श्रेष्ठ, अष्टरत्न तुलाधर, मुकुन्दप्रसाद न्यौपाने र दानहिरा कंसाकार, सहकारीका कर्मचारी रञ्जना शाक्य महर्जन, प्रकाशकुमार बर्मा, जीवनराज बज्राचार्य, रवीन नकर्मी र सुवासकुमार श्रेष्ठसहित अन्य कर्मचारीको नाममा पनि पीडितहरूले जाहेरी दिएका थिए ।