मंसिर २२, काठमाडौं । आगामी सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणको बजेट पास हुने भएको छ ।
मंगलबार राजधानीमा आयोजित ७७औं अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) दिवसको अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी सोमाबार बस्ने प्राधिकरणको बोर्ड बैठकलले चालू आर्थिक वर्षको बजेट पास गर्ने बताएका हुन् । लामो समय मन्त्रालय मन्त्रीविहीन हुँदा बोर्ड बैठक बसेको थिएन, अब भने रोकिएको बजेट सोमबार पास हुने भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणकले चालू आर्थिक वर्षका लागि ४१ अर्ब ७६ करोडको बजेट विनियोजन गर्ने तयारी गरेको छ । गत वर्ष प्राधिकरणको कुल बजेट ४१ अर्ब ११ करोड ३ लाख रुपैयाँ थियो ।
पहिलो विगतमा सञ्चालमा ल्याएका बहुवर्षीय कार्यक्रम, सुदूरपश्चिममा विमानस्थलको मर्मत र स्तरोन्नति, सञ्चालनमा ल्याउने बजेटमा व्यवस्था गरिएको छ । साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सम्पन्न गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ ।
यही चालू आर्थिक वर्षभित्र नै दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना तयारी पारी निर्माण कार्य थाल्ने बजेटमा व्यवस्था गरिएको प्राधिकरण स्रोतले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि प्यारालल ट्रयाक्सी वे र धावनमार्गको पूर्वमा ह्याङगर बनाउने काम चालू आर्थिक वर्षमा हुने जनाइएको छ । प्राधिकरणको बजेट विगतमा साउनमा नै बोर्डले पास गर्ने गरेको भए पनि चालू आर्थिक वर्षमा भने हालसम्म बजेट पास हुन सकेको थिएन् ।