नेपाल एयरलाइन्सले दुबइका लागि उडान थप्यो !

 रासस   २० मंसिर, २०७८



मंसिर १९, काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दुबइ गन्तव्यमा उडान विस्तार गरेको छ । एयरलाइन्सले दुबइमा सातामा सातवटा उडान गर्दै आएकोमा आइतबारदेखि थप दुई उडान थपेर सातामा ९ उडान भर्ने भएको हो ।

दुबइ गन्तव्यमा थपिएको उडानमा सवार यात्रुलाई शुभकामना र निगम परिवारलाई हौसला प्रदान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीको पनि सो अवसरमा सहभागिता थियो । यस अवसरमा पर्यटनमन्त्री आलेले निगमका जहाजलाई बढीभन्दा बढी गन्तव्य विस्तार गरी उडान थपेर सेवा दिन निगम नेतृत्वलाई निर्देशन दिए । उनले निगमका जहाज ग्राउण्डेड भन्दा आकासमा उडिरहने वातावरण बनाउन र गन्तव्यमा उडान थप्नेतर्फ जुट्न निगम व्यवस्थापनलाई अनुरोध गरे ।

निगमका कार्यकारी अध्यक्ष अधिकारीले पर्यटनमन्त्रीले निगम सुधारका लागि देखाएको तदारुकताले निगमका कर्मचारीमा हौसला र नयाँ ऊर्जा पैदा भएको र यसलाई परिणाममुखी बनाउन लागिपर्ने बताए ।

दुबइमा वैदेशिक रोजगारी तथा व्यवसायलगायत विभिन्न क्रममा रहेका नेपालीको बाहुल्यता छ । यो गन्तव्यमा नेपाल एयरलाइन्सले यसअघि सातामा सात उडान गर्दै आएको थियो । थपिएको उडान साताको आइतबार र बुधबार गरिनेछ । यस दिन दैनिक दुई उडान हुनेछ । काठमाडौंबाट बिहान ११ बजे उडेको जहाज दुबइमा उडान भरेर साँझ काठमाडौं नै फर्किने छ । व्यापारिक हिसावले पनि निगमका लागि दुबइ उपयोगी गन्तव्य मानिन्छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post