निर्माणकै क्रममा ढल्यो पक्की पुल !

 कोरखबर   १२ मंसिर, २०७८



मंसिर १२, भोजपुर । भोजपुरको कावा खोलामा ५ करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण भइरहेको पक्की पुल भाँचिएको छ । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङलाई जोड्न कावा खोलामा स्वीस सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको पुल भाँचिएको हो ।

४५ मिटर लम्बाइ, ६ मिटर चौडाइ रहेको पुलमा दुवैतिर पैदल हिँड्न मिल्ने गरी बनाउन लागिएको थियो । पुलको डिजाइन अवधि ८० वर्षको र पुल भूकम्प प्रतिरोधी हुने प्राविधिकले बताएको भए पनि पुल निर्माणको क्रममा भाँचिएको छ ।

भोजपुरलाई उत्तर–दक्षिण जोड्ने गरी कावा खोलामा पुल निर्माण सुरु भएपछि स्थानीयमा उत्साह थपिएको थियो । तर पुल निर्माणकै चरणमा ढलेपछि स्थानीय निरास बनेका छन् ।

यस सडक खण्डलाई भोजपुरको उत्तर–दक्षिण जोड्दै सङ्खुवासभाको किमाथाङ्कासम्म कालोपत्रे गर्ने लक्ष्यले सडक विस्तारको कामको थालनी गरिएको थियो । पुल निर्माण भएपछि सदरमुकामबाट दक्षिण हुँदै तराईका जिल्लामा जान सहज हुने विश्वास लिइएको थियो । 

भोजपुरमा प्रदेश सरकारको पूर्ण लागतमा आठ ओटा र प्रदेश सरकारको पहल तथा स्वीस सरकारको अनुदान सहयोगमा दुई वटा गरी १० वटा पुल निर्माण भइरहेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post