मंसिर ८,काठमाडौं । काठमाडौंबाट रुकुम (सल्ले) जानुपर्ने जहाज नेपालगञ्जमै अवतरण गराइएको विषयका टीकाटिप्पणी भएपछि वायुसेवा निगमले घटनाको विवरण सार्वजनिक गरेको छ ।
निगमका अनुसार आइतवार बिहान ६ः१५ मा उडान हुने जहाजका लागि कर्मचारीहरूलाई सवा ५ बजे बोलाइएको थियो तर, मौसम प्रतिकूलताका कारण उडान रद्द गरिएको थियो । यद्यपि मौसममा क्रमिक सुधार आएपछि दिउँसो सवा २ बजे पुनः उडान भर्ने तयारी गरिएपछि घर फर्किएका यात्रु आएर उडान भर्दा २ः५८ बजेको निगमले जनाएको छ ।
‘काठमाडौं–रुकुम (सल्ले) उडान भरिसक्दा अपरान्हको कम्तीमा ५ बज्ने अवस्था थियो । अर्कोतर्फ बिहान सवा ५ बजेदेखि नै ड्युटी शुरू भएको विमान चालकको ड्युटी आवर ४ बजे पूरा भइसक्ने र तोकिएको 'ड्युटी आवरुभित्र रुकुम पुगेर नेपालगञ्ज फर्किन असमर्थ हुने अवस्था आएपछि नेपालगञ्जसम्म मात्र उडान भर्ने निर्णय भएको थियो,’ निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पाइलटको फ्लाइट ड्युटी अवधि दैनिक १० घण्टाको सीमा निर्धारण गरिएको हुन्छ । रुकुम र नेपालगञ्ज जाने यात्रुहरूलाई काठमाडौंमै राखिरहनुभन्दा नेपालगञ्जसम्म पुर्याएर रुकुम जाने यात्रुहरूलाई होटलमा राखेर भोलिपल्ट बिहानै रुकुम पुर्याउनुपर्ने अवस्था बाध्यता र उचित निर्णय भएको पनि निगमले स्पष्ट पारेको छ ।
यस्तै निगमले विमानको न्यूनताका कारण अर्कोदिनको उडान तालिकामा असर नपरोस् भनेर अन्तिम विकल्प स्वरुप त्यस्तो निर्णय लिइएको र यस्ता घटना अब उप्रान्त दोहोरिन नदिने पनि प्रतिबद्धता जनाएको छ ।
रूकुम लैजानुपर्ने जहाज पाइलटले ड्युटी आवर सकिएपछि नेपालगञ्ज अवतरण गराएको भन्दै आलोचना भएको थियो ।