५ जीवन बीमा कम्पनीले ४ अर्बको आईपिओ ल्याउँदै , कुनको कति ?

 कोरखबर   ७ मंसिर, २०७८



मंसिर ७, काठमाडौं । अहिले संचालनमा रहेका नयाँ जीवन बीमा कम्पनीहरुले झन्डै ४ अर्ब  रुपैयाँको आइपीओ निष्काशन गर्ने भएका छन् । पछिल्लो समय एक साथ लाईसेन्स पाएका १० वटा नयाँ जीवन बीमा कम्पनी मध्ये ५ वटा कम्पनीले ३ अर्ब ८२ करोड बराबरको आइपिओ निष्काशन गर्ने तयारी गरेका हुन् । अन्य ५ वटा कम्पनीले भने आईपिओ निष्काशन गरिसकेका छन् ।

हाल सबैभन्दा धेरै एक अर्ब ७५ करोड रूपैयाँ चुक्ता पूँजी रहेको सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोड रूपैयाँको आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब ५० करोड रूपैयाँ पुग्नेछ ।

त्यस्तै आईएमई लाइफ इन्स्योरेन्सले ६० करोड बराबरको आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब रूपैयाँ पुग्नेछ । कम्पनीले आईपिओ निष्काशन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।

यता रिलायबल नेपाल इन्स्योरेन्सले पनि प्रिमियममा आईपिओ निष्काशन गर्नको लागि बोर्डमा आवेदन दिइसकेको छ । कम्पनीले ११२ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २१२ मा आईपिओ निष्काशनको प्रस्ताव गरेको हो । यसो हुँदा कम्पनीले १ अर्ब २७ करोड रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने छ । 

त्यस्तै सन नेपाल लाइफले पनि प्रिमियममा आईपिओ निष्काशन गर्ने घोषणा गरिसकेको छ । कम्पनीले ६० लाख कित्ता आईपिओ निष्काशन गर्ने छ । तर कम्पनीले अहिलेसम्म बोर्डमा आवेदन भने दिईसकेको छैन ।

महालक्ष्मी लाइफले पनि ६० लाख कित्ता नै आईपिओ निष्काशन गर्ने तयरी गरिरहेको छ । यस कम्पनीले पनि बोर्डमा आवेदन भने दिएको छैन । आईपिओ निष्काशनपछि यी दुवै कम्पनीको चुक्ता पुंजी २ अर्ब पुग्ने छ । 

बोर्डमा आवेदन नदिएका कम्पनीले पनि प्रिमियममा आईपिओ निष्काशन गर्ने सम्भावना छ । यसो हुँदा निष्काशन हुने आईपिओ रकम बढ्ने छ, तर प्रिमियम थपेर निष्काशन हुने भएकोले कित्ता संख्या भने समान नै रहने छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post