विभिन्न स्थानमा भएका दुर्घटनामा १२ जनाको मृत्यु, ७१ घाइते !

 कोरखबर   २ मंसिर, २०७८



मंसिर ३, काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १२ जनाले ज्यान गुमाएका छन् भने ७१ जना घाईते भएका छन् । 

सप्तरीमा बसले हायसलाई ठक्कर दिँदा दुई जनाको मृत्यु
सप्तरीमा यात्रुबाहक बसले हायस गाडीलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । ६ घाइते भएका छन् । कञ्चनरूप नगरपालिका– ८ बेरियमा ना.५ख ४६९२ नम्बरको बसले बा. ४ प ५०७९ नम्बरको हायस गाडीलाई ठक्कर दिएको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिकाका ४० वर्षीय गृषमान सिंह र मोरङको विराटनगर महानगरपालिका– ३ का ४१ वर्षीय चुडाबहादुर बस्नेत छन् । गम्भीर घाइते एकजनाको विराटनगरमा उपचार भइरहेको छ ।

जनकपुरधाम : ट्याक्टर पल्टिँदा दुई तीर्थालुको ज्यान गयो 

धनुषा र सिरहा जोड्ने कमला नदीमा लागेको भूतमेला हेर्न जाँदै गरेका तीर्थालु चढेको अनटेस्ट लेखिएको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । १८ घाइते भएका छन् ।

मृत्यु भएका दुवैजना भारतीय नागरिक हुन् । भारत विहार राज्यको सितामाढी जिल्ला बेला थाना एकरहियाका ५० वर्षीय रामदयाल यादव र ४५ वर्षीय अस्मिता देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । धनुषाको विदेह नगरपालिका– ७ बेलापट्टीस्थित पुलमा बिहीबार करिब ५ बजेतिर पल्टिएको हो ।

उदयपुर : चालक र सहचालकले ज्यान गुमाए

उदयपुरगढी गाउँपालिका–६ दनुवारबेँसीमा बिहीबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१० करमगाछी घर भएका ट्र्याक्टरचालक २० वर्षीय दिवस सार्की र त्रियुगा नगरपालिका–९ गैरुन बस्ने ४० वर्षीय बौवा सदा छन् । दुर्घटनामा गम्भीर घाइते भएका सदाको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा ज्यान गएको हो । सार्कीको भने उपचारका क्रममा विटानगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

दाङ : जेसिबी पल्टिँदा अपरेटरको मृत्यु
दाङको बंगलाचुली गाउँपालिका– ५ मा सडक मर्मतको क्रममा रा.१ क ९१४ नम्बरको जेसिबी पल्टिँदा अपरेटर सुनील विकको मृत्यु भएको छ । घोराही– १० नारायणपुरनिवासी २२ वर्षीय विकको घटनास्थलमै मृत्यु भएको हो । 

सुनसरी : मोटरसाइकल दुर्घटनामा सइको मृत्यु
कोसी राजमार्गअन्तर्गत इटहरी र धरानको बीचमा पर्ने सेउती खोलामा को.१ व २४३८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरी बलमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक सन्तोष बस्नेतको ज्यान गएको छ।

रोल्पा : भिरबाट बस खस्दा चारको ज्यान गयो

रोल्पाको माडी गाउँपालिका– ४ को तार्केबाङमा ना. ३ख ५५१८ नम्बरको बस दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ । १७ यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेशराज सुवेदीले मृतक तीन पुरुष र एक महिला भएको बताए ।

मृत्यु हुनेमा परिवर्तन गाउँपालिका–५ बस्ने ४० वर्षीय  चालक वीरमान बुढा, सोही गाउँपालिका–६ बस्ने ५० वर्षीय  कुमार पुन र वडा नं १ बस्ने  २९ वर्षीय  दीपक रोकाको पहिचान भइसकेको खुलेको छ भने महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण राणाले बताए । 

दाङबाट थवाङका लागि छुटेको उक्त बस बिहीबार साँझ पौने ६ बजेतिर दुर्घटनामा परेको थियो । घाइते भएका मध्ये पाँच जनाको थप उपचारकालागि भैरहवा रिफर गरिएको छ । एक जनाको अवस्था गम्भीर छ ।

घर्तीगाउँ प्रहरी चेक पोस्टमा जाँचका क्रममा बसमा १० यात्रु रहेको अभिलेख टिपाइएको थियो । तर, बसमा २५ भन्दा बढी यात्रु भएको पाइएको छ । बाटो अप्ठेरो भएकाले दुर्घटना भएको हुन सक्ने रोल्पाका प्रहरी निरीक्षक राणाले बताए । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post